पर्वत-पर्वतको जलजला गाउँपालिका-७ धाइरिङ मिलनचोकमा सामाजिक कुरीति र कुसंस्कार विरुद्धको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । जिल्ला प्रशासन कार्यालय पर्वत र सामाजिक विकास कार्यालय पर्वतको संयुक्त आयोजनामा उक्त कार्यक्रम आज सम्पन्न भएको हो । कार्यक्रमका सहभागी सरोकारवालाले समाजमा जडा गाडेर बसेको जातीय छुवाछूत, बालविवाह, बहुविवाह, बोक्सी आरोप, लैंगिक हिंसा, महिनावारीमा हुने छोइछिटो, मदिराको नियन्त्रण, लागू औषध दुर्व्यशनी लगायत सामाजिक कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्नेमा जोड दिएका छन् ।
गण्डकी प्रदेश सभा सदस्य भक्त कुँवरले सामाजिक कुरीति र कुसंस्कारको अन्त्य गरि सभ्य समाज निर्माणमा जोड दिनुपर्ने बताउनुभयो । अन्धविश्वास, कुरीति र कुसंस्कारले समाजमा नकारात्मक असर परेको बताउदै सभ्य समाज निर्माणका लागि जनचेतनामूलक कार्यक्रम संचालन गर्नुपर्ने बताउनुभयो ।
कार्यक्रमको सहजीकरण गर्दै प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले सभ्य, समुन्नत र समावेशी समाज निर्माण गर्नका लागि सबैले पहल गर्नुपर्ने बताउनुभयो । परिवर्तनको शुरूवात व्यक्ति आफैंबाट गर्नुपर्ने बताउदै गलत मानसिकता त्यागेर कुरीति र कुसंस्कार अन्त्य गर्नुपर्ने बताउनुभयो । जलजला गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बाल बिबाह, महिला हिंसा, जातीय विभेद र समाजमा हुने सबैखाले कुरीति र कुसंस्कार अन्त्य गर्न पालिकाले विभिन्न कार्यक्रम संचालन गरेको बताउनुभयो ।
उपाध्यक्ष दिपक आचार्यले महिला, दलित, अपांग लगायत लक्षित वर्गको सशक्तीकरणका लागि महत्त्वपूर्ण कार्यहरू संचालन गरेको बताउनुभयो । हिजोका दिनमा कुसंस्कारले जरा गाडेको समाज अहिले परिवर्तन हुँदै गएको बताउदै सामाजिक विकृति, कुसंस्कार र जातीय विभेद अन्त्य गर्नुपर्नेमा उहाँले जोड दिनुभयो । सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीलेले संघ, प्रदेश र स्थानीय सरकारको समन्वयमा गाउँ गाउँमा विभेद र कुसंस्कार विरुद्धका कार्यक्रम संचालन गर्न आवश्यक रहेकोे बताउनुभयो । प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालको अध्यक्षता, जलजला-७,धाइरिङका कार्याबाहक वडा अध्यक्ष पोम बहादुर खत्री क्षेत्रीको स्वागत मन्तव्य र कार्यक्रमको संचालन सामाजिक विकास कार्यालय पर्वतका प्रमुख मोहनचन्द्र सुवेदीलेले गर्नुभएको थियो ।