जलजला गाउँपालिकाको सहयोगमा पर्वत अस्पतालमा बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ सुविधा

67

पर्वत- पर्वत अस्पतालको ओ.पि.डी (आउटप्यासेन्ट डिपार्टमेन्ट) मा स्वास्थ्य परीक्षणका लागि आउने महिला बिरामीलाई निःशुल्क ‘सेनीटरी प्याड’ को सुविधा दिइने भएको छ।

भर्ना भएर बसेका बिरामी तथा उनीहरूका कुरुवाले आफूलाई आवश्यक सामग्रीको व्यवस्थापन आफैले गर्ने भए पनि ओ.पि.डी. मा आएका महिलाले ‘प्याड’ बोकेर नआउने र अचानक महिनावारी हुँदा समस्या हुने भएकाले यो व्यवस्था गर्न लागिएको हो।

अस्पतालले सहयोगका लागि जलजला गाउँपालिकामा प्रस्ताव गरेकोमा गाउँपालिकाको गाउँ सभाबाट निर्णय गरेर दुई लाख रुपैयाँ उपलब्ध गराएपछि यो सुविधा थप गर्न लागिएको हो। सरकार मातहतको जिल्लाको सबैभन्दा ठूलो पर्वत अस्पताल भएको र आफ्नो स्थानीय तहका बिरामीहरूले पनि सोही अस्पतालबाट सेवा लिने भएकाले उक्त रकम प्रदान गरिएको गाउँपालिकाका अध्यक्ष राजु आचार्यले बताए। ‘सामान्य बिरामी भएको अवस्थामा गाउँमा रहेका स्वास्थ्य संस्थाबाट सेवा लिने भए पनि त्यो भन्दा ठूलो बिरामी भएको बेलामा उपचारका लागि जाने त त्यही अस्पताल हो’, उनले भने, ‘सबै सुविधाका लागि अस्पतालसँग पर्याप्त बजेट नुहुने भएकाले हामीले सहयोग गरेका हौँ।’

गाउँपालिकाले उपलब्ध गराएको रकमबाट आगामी एक वर्षका लागि ‘सेनीटरी प्याड’ निःशुल्क दिन सकेमा अर्को वर्षका लागि स्थानीय तहहरूमा प्रस्ताव गर्ने देखि बाह्य सहयोगीहरू खोजेर भए पनि निरन्तरता दिइने अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. रुक्मिना अधिकारीले बताइन्। पर्वतकै केही व्यक्तिहरूले निर्माण गरेको र सिक्का (कोइन) खसालेपछि ‘प्याड’ निस्किने ‘म्यानुअल’ खालको ‘भेन्डर मसिन’ (सेनीटरी प्याड राखिने उपकरण) भएकाले पनि गाउँपालिकाले दिएको रकमबाट एक वर्ष सेवा दिन सकिने उनको भनाई छ।

‘भर्ना भएर बसेका बिरामीहरूले आफ्ना लागि बोकेर आउनुहुन्छ । तर ओ.पि.डी. चेक गरेर घर फर्किहाल्छु भनेर आउनुभएकाहरूले प्याड ल्याउनुभएको हुँदैन। स्वास्थ्य परीक्षणका लागि लाइनमा बसेको बेलामा महिनावारी हुँदा समस्या भएको देख्यौँ’, अधिकारी भन्छिन्, ‘म्यानुअल खालको भएकाले यो भेन्डर मसिन १५÷२० जतिमा आउँछ। बाँकी रकमले प्याड खरिद गर्ने हो। यसले एक वर्ष मात्रै धान्यो भने अर्को वर्षका लागि फेरि सहयोगका लागि अनुरोध गर्नुपर्ला।’

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here