तनहुँ- उपनिर्वाचन हुने तीन जिल्लामा शुक्रबारदेखि निर्वाचन आचारसंहिता लागू हुने भएको छ । निर्वाचन आयोगले चितवन, बारा र तनहुँमा मन्त्रीहरु, संवैधानिक निकायका पदाधिकारी, स्थानीय कार्यपालिकाका सदस्यलगायतका लागि निर्वाचन आचारसंहिता लागू गर्ने निर्णय गरेको हो ।
आचारसंहिता लागू भएसँगै जनप्रतिनिधिहरु उम्मेदवारको प्रचारमा लाग्न पाउने छैनन् । चितवन क्षेत्र नम्बर २, बारा –२ र तनहुँ– १ मा १० वैशाखमा उपचुनाव हुँदैछ । तनहुँमा ९ जना उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । तर ,त्यहाँ नेपाली कांग्रेसको तर्फबाट उम्मेदवारी दिएका गोविन्द भट्टराई, एमालेका सर्वेन्द्र खनाल र राष्ट्रिय स्वतन्त्र पार्टीको तर्फबाट स्वर्णीम वाग्लेबीच मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिएको छ ।
गएको मंसिरको चुनावमा सो क्षेत्रबाट विजयी सांस्द रामचन्द्र पौडेल राष्ट्रपति भएसँगै त्यहाँ हुने उपनिर्वाचनप्रति देशकै चासो बढेको छ । पूर्व प्रहरी प्रमुख, रामचन्द्रको विरासत बोकेको बताउने गोविन्द तथा भर्खरै कांग्रेस छाडेर राष्ट्रिय स्वतन्त्र पार्टी रोजेका स्वर्णीम यतिबेला चुनावी अभियानमा व्यस्त छन् ।