रूपन्देही-यातायात व्यवस्था विभाग सवारी चालक अनुमति पत्र बुटवल कार्यालय अहिले कार्यालय प्रमुख विहिन बनेको छ। कार्यालयमा अहिले कार्यालय प्रमुखको कुर्सी खाली छ। रोचक कुरा त के छ भने , कार्यालयमा नियमित प्रक्रिया अनुसार प्रमुखको पद रिक्त भएको भने होइन । केही स्वार्थ समुहका विवादको चपेटामा समग्र कार्यालयको नेतृत्वको पद परेको छ। यसअघिका कार्यालय प्रमुख केशव अर्याललाई लुम्बिनी प्रदेश मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यलयले २०७९/१२/२८ गते को नि.प्रमुख सचिवस्तरीय निर्णयबाट वन तथा वातावरण मन्त्रालयमा सरूवा गरेको छ ।
सोही मितिमा नै मुख्यमन्त्री कार्यालयले प्रदेश सरकार स्वास्थ्य मन्त्रालयमा कार्यरत उपसचिव महेश पाण्डेलाई अर्यालको ठाउमा सरूवा गर्न पत्राचार गरेको छ र सोही अनुसार पाण्डेले स्वास्थ्य मन्त्रालयबाट रमाना लिई मिति २०८०/०१/०६ मा यातायात कार्यालय बुटवल मा हाजिर पनि भएका छन।
तर उनै पाण्डेको मिति २०७९/१२/२३ मा संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले बाराको महागढिमाई नगरपालिकामा प्रमुख प्रशासकिय अधिकृतको रूपमा सरूवा गरिसकेको छ र सोही दिन राष्ट्रिय किताबखानाको अभिलेखमा निज महेश पाण्डे नगरपालिकामा हाजिर भएको जनाईएको छ । तर त्यसको जानकारी नत स्वयं पाण्डेलाई नै छ न लुम्बिनी प्रदेश सरकारको मुख्यमन्त्री कार्यालयलाई , र न उनी बारा नै गएका छन । पाण्डे उक्त दिन पनि साबिकको कार्यालय प्रदेशकै स्वास्थ्य मन्त्रालयमा हाजिर भएका छन। यसबारे पाण्डेको प्रतिक्रिया बुज्दा उनले यसरी सत्य एउटा र अभिलेखीकरण अर्को गरि सरकारी कार्यालयलाई निकम्मा र कर्मचारीलाई हतोत्साहित बनाउने काम गरिनु दुखद भएको जनाए।
कर्मचारी सरूवा हुदा कर्मचारी र सम्बन्धित कार्यालयमा मेल अथवा पत्राचार हुनुपर्नेमा त्यो नभएको पाईएको छ। संघिय मामिलाका शाखा अधिकृत विकास राज अर्याल द्दारा हस्ताक्षरित पत्रलाई सम्बन्धित कर्मचारीलाई र कार्यालयमा पत्राचार गर्नुपर्नेमा नगरिएको र त्यही आधारमा टेकेर मुख्यमन्त्री कार्यालयले पाण्डेलाई सवारी चालक अनुमति पत्र बुटवलमा सरूवा गरेको जनाएको छ। सर्वसाधारण जनताको सबैभन्दा भिड हुने यातायात कार्यालयको कार्यालय प्रमुख नै नहुदा सेवाग्राही प्रभावित भईरहेका छन।