23.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वतको ग्रामप्रकाश माबिमा कृषि प्राविधिक बिषयमा पढाइ हुने !

पर्वत-पर्वतको जलजला गाउँपालिका वडा नं.५, लेखफाट स्थित श्री ग्रामप्रकाश माध्यमिक बिद्यालयमा कृषि प्राविधिक (बाली बिज्ञान) बिषयको पठनपाठन हुने भएको छ । सरकारको एक पालिकाका एक प्राविधिक बिद्यालय अन्तर्गत कक्षा ९ देखि १२ सम्म उक्त बिषयमा पठनपाठन हुने भएको हो । नेपाल सरकार शिक्षा, बिज्ञान तथा प्रविधि मन्त्रालयबाट कृषि प्राविधिक बिषय अध्ययनका लागि हालैमात्र स्वीकृत प्राप्त भएको र यहीँ शैक्षिक सत्र २०८० बाट पठनपाठन सुरु हुन लागेको बिद्यालयका प्रधानाध्यापक भवानी शंकर पौडेलले जानकारी दिनुभयो ।
अहिले बिद्यालयमा कक्षा ८ उतिर्ण गरि ९ मा गएका ३९ जना  विद्यार्थीहरु कृषि बिषय लिएर पढ्न चाहेको र अन्यत्रबाट पनि कृषि प्राविधिक पढ्न इच्छुक विद्यार्थीहरु आउने संभावना रहेको उहाँले बताउनुभयो ।
निशुल्क आवस सहित अन्य आकर्षक सुविधाका साथ कृषि प्राविधिक विषयमा पठनपाठन थालिएको बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष महदत्त सुवेदीले जानकारी दिनुभयो ।
बिद्यालयमा दक्ष तथा अनुभवी शिक्षकबाट पठनपाठन हुने, बिज्ञान प्रयोगशाला,आधुनिक कम्प्युटर ल्याब,  प्रोजेक्टर र स्माट बोर्डसहितका कक्षाहरु, प्राविधिक शिक्षाका लागि आफ्नै प्रयोगात्मक प्रयोगशाला लगायतको सुविधा रहेको उहाँले बताउनुभयो ।
व्यवस्थित तरिकाले गुणस्तरीय र व्यवहारिक शिक्षामा जोड दिने गाउँपालिकाका अध्यक्ष राजु प्रसाद आचार्यले बताउनुभयो । कृषि प्राविधिक अध्ययनका लागि पालिकाका अन्य बिद्यालयका बिद्यार्थीहरुलाई पनि सोही बिद्यालयमा अध्ययन गर्न प्रेरित गरि भविष्यमा सिपयुक्त दक्ष र योग्य जनशक्ति उत्पादनमा जोड दिएको उहाँले बताउनुभयो ।
लेखफाटमा कृषि उपज उत्पादनको हिसाबले उपयुक्त ठाउँ भएको र विद्यार्थीहरुको बिषयगत सिकाइमा प्रभावकारी हुने भएकाले ग्रामप्रकाश माबि कृषि प्राविधिक बाली बिज्ञान अध्ययनका लागि छनोट हुन सफल भएको ग्रामप्रकाश बहुमुखी क्याम्पस संचालक समिति अध्यक्ष उदय प्रसाद सुवेदीले बताउनुभयो । कृषि उपज उत्पादनमा उर्वर क्षेत्र रहेको लेखफाटमा उत्पादनका लागि प्रशस्त जमिन, सिचाइको व्यवस्था उपयुक्त हावापानी रहेको उहाँले बताउनुभयो । त्यहाँ मुख्य रुपमा धान, कोदो, मकै, गहुँ, आलु, ताजा तरकारी तथा फलफुल उत्पादन हुने गरेको छ । उपयुक्त जमिन र हावापानी भएका कारण कास्कीको लुम्ले कृषि अनुसन्धान केन्द्रले प्रयोगात्मक रुपमा विभिन्न तालिमहरु समेत संचालन गर्ने गरेको सुवेदीले बताउनुभयो ।
नेपाल कृषि प्रधान देश भएता पनि कृषि क्षेत्रको विकास हुन नसकेको अवस्थामा यस बिद्यालयमा सुरु भएको कृषि प्राविधिक बिषयको अध्ययनले दक्ष र योग्य प्राविधिक उत्पादन गरि कृषि क्षेत्रको विकासमा टेवा पुर्‍याउने विश्वास लिएको बिद्यालयले जनाएको छ । आफ्नै गाउँको स्कुलमा निशुल्क रूपमा कृषि प्राविधिक पढाउन पाउदा अभिभावकहरु खुसी भएका छन् ।आफ्नो छोरालाई गाउँमै कृषि बिषय पढाउन पाउँदा खुसी लागेको स्थानीय घनश्याम सुवेदीले बताउनुभयो ।
वि सं. २०१५  सालमा स्थापना भएको उक्त विद्यालयमा अहिले २ सय भन्दा बढी बिद्यार्थीहरु अध्ययनरत छन् ।

ताजा

Related Articles