25.1 C
Kathmandu
Thursday, April 16, 2026

आन्तरिक शान्ति एवम् खुशियाली जीवनका कुश्मामा ५ दिने प्रशिक्षण सुरु

पर्वत-पर्वतको कुश्मामा आन्तरिक शान्ति एवम् खुशियाली जीवनका लागि ५ दिने राजयोग मेडिटेशन बिषयक प्रशिक्षण कार्यक्रम सुरु भएको छ ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय कुश्माको आयोजना र कुश्मा नगरपालिकाको सह–आयोजनामा उक्त प्रशिक्षण आजबाट सुरु भएको हो ।
उक्त कार्यक्रमको गण्डकी प्रदेशका मुख्य मन्त्री सुरेन्द्र पाण्डेले उद्घाटन गर्नुभएको छ । कार्यक्रममा बोल्दै उहाँले प्रदेशका सवै पालिकाहरुले ध्यान तथा योग शिविर सञ्चालन गर्न आग्रह गर्नुभएको छ । पालिकाहरुले ध्यान योग शिविर आयोजना गरेमा प्रदेश सरकारले पनि साझेदारी गर्ने बताउनुभयो ।
मुख्य मन्त्री पाण्डेले पछिल्लो समयमा मानिसहरुमा आएको नकारात्मक सोचका कारण समाज भाडिँदै गएको बताउँदै योग र ध्यानको माध्यमबाट मानिसलाई सहि मार्गमा ल्याउन सकिने बताउनुभयो । गण्डकी प्रदेशमा मात्रै दैनिक ३ जनाले आत्महत्या गर्ने गरेको बताउँदै यसको न्यूनिकरणका लागि पनि योग र ध्यान तथा मेडिटेशनका कार्यक्रमहरु सञ्चालन गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो ।

कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विक, कुश्मा नगरपालिका प्रमुख रामचन्द्र जोशी तथा मोदी गाउँपालिका अध्यक्ष हिरादेवी शर्माले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
प्रशिक्षण कार्यक्रममा स्वःअनुभूति तथा सकरात्मक सोचको विकास, शान्ति एवं खुसीको अनुभूतिगर्ने विधि, आपसी सम्वन्धमा मधुरता, क्रोध एवं तनावमूक्त जीवन, जीवनमा आईपर्ने घटनाहरुको रहस्य एवं परमात्मा शक्ति एवं वरदान प्राप्तगर्ने विधिहरुको बारेमा प्रशिक्षण दिईने छ ।
यहीँ साउन १४ गतेसम्म कुश्माको युनिभर्सल पार्टी प्यालेसको हलमा निशुल्क संचालन हुने प्रशिक्षण कार्यक्रमको मूख्य प्रशिक्षकमा ब्रह्मकुमार राजु घले रहनु भएको छ ।

ताजा

Related Articles