पर्वत-पर्वत सुनचाँदी व्यावसायी संघले विभिन्न ६ बुँदे माग राख्दै पर्वतका प्रमुख जिल्ला अधिकारी मार्फत अर्थमन्त्री प्रकाशशरण महतलाई ज्ञापनपत्र बुझाएको छ ।
सोमवार जिल्ला प्रशासन कार्यालयमा पुगेर सुनचाँदी व्यावसायी महासंघका केन्द्रीय उपाध्यक्ष निर्मल विश्वकर्मा र जिल्ला अध्यक्ष ठाकुर वि पौडेलले प्रमुख जिल्ला अधिकारी प्रेम आचार्यलाई ज्ञापन पत्र पेश गरेका हुन् । ज्ञापन पत्रमा सुनचाँदीका गरगहना जस्तो देवानी संहितामा सम्पत्तिको महलमा परिभाषा गरिएको नगद सरहको सम्पत्तीमा लगाइएको २ प्रतिशत विलासिता कर खारेज हुनु पर्ने, भन्सार दरमा ५० प्रतिशत वृद्धि गरिएकोमा त्यसलाई पुनरावलोकन गरी सुनचादीको आयात ओजीएल मार्फत व्यावसायी बैंकलाई खुल्ला गरिनु पर्ने,व्यवसायीको प्यान नम्वरमा आधारित भई आवश्यकता अनुसार कच्चा पदार्थ सुनचांदी उपलब्ध हुने व्यवस्था गरिनु पर्ने, नेपालबाट विदेश लिएर गएको गहना समय सिमा नतोकी निर्वाध रुपमा नेपालमा खरीद गरिएको बिल देखाएर फिर्ता ल्याउन पाउने व्यवस्था गर्नु पर्ने माग उल्लेख गरिएको छ ।
त्यसैगरी झिटीगुण्टा भारी अन्तर्गत विदेशबाट नेपाल फर्किदा ल्याउन पाउने सुविधाको परिमाण लैंगिक विभेद नगरि ५० ग्राम कायम गर्ने र बेरुवा औंठी, बाला, सिक्री जस्ता कम नोक्सानी हुने गहना ल्याउन बन्देज लगाई विदेशी कालिगढहरुवाट बनाइएका गरगहना मात्र ल्याउन पाउने र नेपाली रोजगारी खोस्ने व्यवस्थाको संशोधन हुनुपर्ने,नेपालीहरुलाई तोकिएको भन्दा बढि गरगहना ल्याउदा भन्सार लागे पनि भारतबाट आउने यात्रुहरुलाई विशेष सुविधा हुने गरी वैवाहिक कार्यक्रमहरुमा आउँदा भन्सारमा टिपाएर मात्र पुग्ने र भन्सार तिर्नै नपर्ने गरि ल्याउन पाउने व्यवस्थालाई हटाइनु पर्ने, नेपालको सुनवजारलाई भारतीय गर गहनाको डम्पिङ साइट हुन नदिई राष्ट्रिय व्यवसायको संरक्षण गर्नुपन, बजेटमा व्यवस्था भएको परम्परागत पेशा व्यवसायलाई संरक्षण गर्ने बुँदालाई आफैले काटेर सुनचाँदी व्यवसायलाई अप्ठ्यारोमा पार्ने काम भएकोले त्यसमा सुधार गरिनु पर्ने उल्लेख गरिएको छ ।