लक्ष्मण बिसि,पर्वत- राष्ट्रिय जनगणना-२०७८ को पर्वत जिल्ला स्तरीय नतिजा सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । तथ्यांक कार्यालय स्याङ्जाको आयोजनामा उक्त कार्यक्रम बिहिबार कुश्मामा सम्पन्न भएको हो । कार्यक्रममा २०७८ को जनगणना अनुसार पर्वतको कुल जनसंख्या १ लाख ३० हजार ८ सय ८७ रहेको जानकारी गराइएको छ । जसमा महिला ६९ हजार २ सय ९ र पुरुष ६१ हजार ६ सय ७८ रहेका छन् । त्यस्तै संस्थागत जनसंख्या ७ सय ३६ रहेको छ । पालिका अनुसार कुश्मा नगरपालिकामा ३८ हजार १ सय १, फलेवास नगरपालिकामा २० हजार ४ सय ६८, महाशिला गाउँपालिकामा ८ हजार १ सय ३६,पैंयु गाउँपालिकामा १२ हजार ७ सय २५,बिहादी गाउँपालिकामा १० हजार ८ सय २८, जलजला गाउँपालिकामा २१ हजार १ सय १९ र मोदी गाउँपालिकामा १८ हजार ७ सय ९४ जनसंख्या रहेको छ । पर्वतमा २०६८ जनसंख्या भन्दा २०७८ को जनगणनामा १.०९ प्रतिशतले जनसंख्या घटेको जनगणना कार्यालय पर्वतका तथ्यांक सहायक सुरेन्द्र राज पौडेलले जानकारी दिनुभयो । उहाँले पर्वतको जनसंख्या र लैङ्गिगिक अनुपात, परिवार संख्या, परिवारको औषत आकार र जनघनत्वको बारेमा जानकारी गराउनुभएको थियोे । कार्यक्रममा बोल्दै प्रमुख अतिथि जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिकले पर्वतको जनसंख्या र सबै सुचकको आधारमा कार्यक्रम संचालन गर्नुपर्नेमा जोड दिनुभयो ।आफ्नो पालिकाको जनसंख्या र अवस्थाको आधारमा नीति तथा कार्यक्रम बनाएर संचालन गर्न पालिकाहरुलाई उहाँले अनुरोध गर्नुभयो । जनगणनामा सत्यतथ्य कुरा नआएको हो कै भन्दै उहाँले आगामी दिनमा त्यस्ता कमिकमजोरी सुधार गर्नुपर्ने बताउनुभयो । प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यले सरकारले उपयुक्त नीति ल्याएपनि कार्यान्वयनमा चुनौती रहेको बताउदै नीति तथा कार्यक्रम कार्यान्वयनमा जोड दिनुपर्ने बताउनुभयो । विकास सूचकांकको हिसाबले जिल्ला राम्रो भएपनि थप प्रगतिका लागि सबै निकायबाट पहल गर्नुपर्ने उहाँले बताउनुभयो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका समन्वय अधिकारी नेत्रप्रसाद पौडेलले पर्वतको विकासका लागि स्थानीय तह र सम्बन्धि सरोकारवाला सबैले चासो दिनुपर्ने बताउनुभयो । कार्यक्रममा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, पालिकाका प्रमुख, प्रमुख प्रशासकीय अधिकृत, विभिन्न कार्यालय तथा संघसंस्थाका प्रमुख तथा प्रतिनिधि, पत्रकार लगायतको उपस्थिति रहेको थियोे ।
यस्तो छ,पालिका अनुसार जनसंख्या विवरण


