मनाङ-जंगलबाट ल्याएको बारुला पकाएर खाँदा मनाङमा होटल सञ्चालकसहित ८ जना कामदार गम्भीर बिरामी परेका छन् । सदरमुकाम चामे नजिकै कोतोबाट नार्पाभूमि जाने बाटो नार्पाभूमि गाउँपालिका-२ छ्याज्याको होटलबाट बाँडेको बारुला खाँदा होटल सञ्चालकसहित कामदार बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी नवीनकृष्ण भण्डारीका अनुसार सदरमुकाम चामेस्थित मनाङ जिल्ला अस्पतालमा उपचारपछि घाइतेमध्ये ७ जनालाई थप उपचारका लागि लमजुङ सदरमुकाम बेंसीसहरस्थित लमजुङ अस्पतालमा पठाइएको छ । एक जनाको जिल्ला अस्पताल मनाङमै उपचार भइरहेको छ ।
गोरखाको गण्डकी गाउँपालिका-५ घर भएका ४४ वर्षीय दलबहादुर आलेमगर, ४३ वर्षीय टेकबहादुर सुनार, ३८ वर्षीय महलमान थापामगर, ४० वर्षीय गुञ्जमान थापा, गोरखा पालुङटार नगरपालिकाका-८ का ३८ वर्षीय सेते तामाङ, उदयपुर कटारी नगरपालिका-८ की ४७ वर्षीया लिला तामाङ, धादिङ रुवीभ्याली गाउँपालिका-५ का ४४ वर्षीय प्रेमबहादुर घले र रोल्पा थवाङ गाउँपालिका-२, फुन्तिवाङ घर भइ नार्पाभूमि गाउँपालिका-२ छ्याज्यामा होटल व्यावसाय गरी बस्ने ४७ वर्षीया रामसरी बुढामगर बिरामी भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय लमजुङका इन्सपेक्टर बुद्धिप्रसाद सुवेदीले लमजुङ अस्पतालमा उपचार गराइरहेकामध्ये ३ जना बुधबार साँझ चितवन रिफर गरिएका छन् । गोरखाका टेकबहादुर सुनार, गुञ्जमान थापा र सेते तामाङलाई थप उपचारका लागि चितवनस्थित सरकारी अस्पतालमा रिफर गरिएको छ ।
रामसरीले सञ्चालन गर्दै आएको होटलमा रामसरी र उदयपुर कटारीकी लिला तामाङले बारुला भुटेर खाएका हुन् । अरुले चामे गाउँपालिका-५ क्षेत्रमा ल्याएर बारुला खाएका थिए ।
बुधबार बिहान जानकारी पाउनासाथ प्रहरीलाई पठाएर उद्धार गरी चामेस्थित जिल्ला अस्पताल ल्याएको र सामान्य उपचारपछि लमजुङतर्फ जिपमार्फत पठाएको सुवेदीले बताए । ‘रातिदेखि नै बिरामी परेका रहेछन् । बिहानमात्रै खबर आयो । हामीले छिटो उद्धार गर्न नसके के भइसक्थ्यो भन्न सकिँदैनथ्यो,’ उनले भने । मोटरबाटो नभएको उक्त ठाउँबाट बिरामीलाई बोकेर ल्याइएको उनले बताए ।
विरामी लिला तामाङका अनुसार जंगलबाट ल्याइएको बारुला उनीहरुले मंगलबार बिहान १० बजेपछि खाएका थिए । उनी आफू राति ११ बजेतिरबाट बिरामी परेको बताइन् । मुटु दुख्ने, पेट दुख्ने र त्यसपछि बेहोस भएको उनले बताइन् । पुरुष कामदारहरु चामेको कोतो पारी क्षेत्र (चामे गाउँपालिका-५) मा बस्ने र उनीहरुले त्यहाँ ल्याएर बारुला खाएका थिए । खाएकाहरु सबै बिरामी परेको उनले बताइन् ।

