पोखरा- पोखरा महानगरपालिका वडा नं. ९ ले सार्वजानिक स्थानमा रातको समयमा फोहोर फाल्ने दुई व्यवसायलाई कारवाही गरेको छ । चिप्लेढुंगास्थित निभा गल्लिअघि रातको समयमा फोहोर फाल्ने दुई व्यसायीलाई बुधबार नगर प्रहरीको सहायतामा नियन्त्रणमा लिइ कारवाही गरिएको हो । रेष्टुरेन्टको फोहोर सडक पेटीमा फालेको कारण काम गर्नेलाई नियन्त्रणमा लिई नगद पाँच–पाँच हजार जरिवानासहित संचालकको जिम्मा लगाएको पोखरा महानगरपालिका वडा ९ का वडाअध्यक्ष दिपेन्द्र मर्सानीले जानकारी दिए ।
पोखराको मुख्य बजार चिप्लेढुंगा, नयाँबजार, न्युरोडलगायत क्षेत्रमा महानगरपालिकाले फोहोर उठाउन नसकेपछि व्यवसायीहरुले सडकमै फोहोर थुपार्ने गरेका छन् । एक हप्तादेखि पोखराको फोहोर उठ्न सकिरहेको छैन् । पोखरा ३२ लामोआहालस्थित अस्थायी ल्यान्डफिल साइटका स्थानीयको विरोधका कारण एक हप्तादेखि फाहोर उठ्न नसकेपछि पोखराको सडकमा फोहोर फाल्न सुरु गरेका हनु ।
सहरलाई सफा र सुन्दर राख्ने दायित्व नागरिककै भएकाले जथाभावी फोहोर नफालिदिन मर्सानीले अनुरोध गरे ‘पोखरा महानगर र स्थानीयबीचमा छलफल चलिहरहेको छ । वार्ता लेपछि फोहोर व्यवस्थापन हुन्छ । सडक पेटीमा फोहोर फाल्नुपर्ने अवस्था आएको छैन् । नागरिक सचेत हुन जरुरी छ,’ उनले भने, ‘सार्वजानिक ठाउँमा फोहोर फाल्ने सम्बन्धित व्यक्तिहरुलाई समातेर घर धनी र व्यवसय संचालकलाई बुझाएका छौं । हामीले जरिवाना सहित छाड्यौं ।’ मर्सानीका अनुसार मंगलबार पनि अन्यत्रबाट जिपमा फोहोर फाल्न ल्याउनेलाई नियन्त्रणमा लिई जरिवाना तिर्न लगाइएको थियो ।
‘हिजोमात्र पनि हामीले शान्तिवनमा गाडीसहित पक्राउ गरियो । कहाँ कहाँको फोहोर यहाँ ल्याएर अहिले पनि विभिन्न व्यवसाय गर्ने साथीहरुले चिप्लेढुंगामा ल्याएर फोहोर फालेका छन्,’ मर्सानीले भने । उनले जथाभावी फोहर फाल्नेलाई पाँच हजारदेखि १ लाख ५० हजार रुपैयाँसम्म जरिवाना लगाउने बताए । पोखराको न्युरोड, नयाँबजार, पृथ्वीचोकलगायत मुख्य बजार क्षेत्रका फोहोर उठाएर गाडीमै राखिएको छ ।