पर्वत-एसइई परिक्षा-२०७९ मा पर्वत जिल्लाभर उत्कृष्ठ नतिजा ल्याउन सफल फलेवास–४ स्थीत माटेदेवल जनसहयोगि प्राविधिक तथा व्यवसायिक माध्यमिक विद्यालयका शिक्षक तथा कर्मचारीहरुलाई सम्मान गरिएको छ । एसईई परीक्षामा जिल्लामा नै उत्कृष्ट नतिजा ल्याउन शिक्षक तथा कर्मचारीहरुको महत्त्वपूर्ण भुमिका रहेको भन्दै बिद्यालयले आइतबार सम्मान गरेको हो । जिल्लाभरको एसईई परिक्षाको नतिजामा माटेटेवलमा अध्ययनरत अंकित गौंडेलले ३.९२ जिपिए सहित पर्वतभर उत्कृष्ठ भएका थिए । त्यस्तै सोहि विद्यालयका रञ्जिता भुजेल, शुशिलादेवि गौंडेल र गोबिन्दप्रसाद भुषालले ए प्लस नतिजा सहित उत्तिर्ण भएका थिए । कक्षा १ देखि १० सम्म अध्यापन गर्दा कडा मेहनतका साथ जिल्लाभर उत्कृष्ठ नतिजा ल्याउन खटिने विद्यालयका सम्पुर्ण शिक्षक तथा कर्मचारीहरुलाई विद्यालय व्यवस्थापन समितिले नगद, दोसल्ला र प्रमाणपत्र सहित सम्मान गरेको हो । विद्यालय र गाउँ शिक्षा समितिले यसअघि उक्त नतिजा ल्याउने विद्यार्थी र अभिभावकलाई समेत सम्मान गरेको थियो ।
शिक्षक तथा कर्मचारी सम्मान कार्यक्रममा बोल्दै नगरप्रमुख गंगाधर तिवारीले शैक्षिक विकासमा अग्रस्थान हासिल गर्ने विद्यालय र शिक्षकहरुको प्रशंसा गर्नुभयो । उहाँले यो नतिजा ल्याउन सफल विद्यार्थी, शिक्षक र अभिभावकको जति नै प्रंशंसा गरे पनि कमी हुने बताउँदै यो गतिलाई अझै बढाउँदै लैजान शुभकामना दिनुभयो । उहाँले शिक्षा, स्वास्थ्य र आम्दानीको स्रोतका कारण नै मानिसहरु बसाईसराई गरिरहेको बताउँदै त्यसलाई रोक्नका लागि पनि ग्रामिणस्तरका विद्यालयमा शैक्षिक सुधारको खाँचो रहेको बताउनुभयो । नगरप्रमुख तिवारीले विद्यालयको शैक्षिक उन्नतीका लागि आफुले पाउने पारिश्रमिक मध्येबाट एक लाख एक हजार रुपैयाँको अक्षयकोष स्थापना गर्ने घोषणा समेत गर्नुभयो ।
उपप्रमुख शोभाकुमारी क्षेत्रीले जिल्लाभर उत्कृष्ठ नतिजा ल्याएर नाम राखेको माटेदेवल माविले आगमी दिनमा अझै उत्कृष्ठ नतिजा ल्याउन शुभकामना दिनुभयो । कृषि प्राविधिक विषयमार्फत विद्यार्थीलाई पढ्दै कमाउँदै गर्न प्रोत्साहन गरेको विद्यालयले यो कार्यलाई अझै गतिशिल बनाउँदै लैजानुपर्ने र त्यसका लागि नगरले सक्दो सहयोग गर्ने बताउनुभयो । नगर शिक्षा अधिकृत कृष्णप्रसाद आचार्यले जिल्लाभरमै उत्कृष्ठ नतिजा ल्याउने विद्यालयका कारण फलेवासको शीर पनि उचो भएको बताउनुभयो । कार्यक्रममा पुर्व शिक्षक एवम् गाउँ शिक्षा समितिका सचिव नरनाथ सापकोटा, स्थानीय अगुवा महिला लक्ष्मीदेवी गौडेल, व्यवस्थापक समितीका पुर्व अध्यक्षहरु धनेस्वर रेग्मी र कृष्णप्रसाद लम्साल, पुर्व वडाअध्यक्ष टिकाराम गौडेल,वडा सदस्य बाबुराम पौडेल, प्रधानाध्यापक रामप्रसाद रिजाल, समाजसेवी कृष्ण गौडेल लगायतले बोल्नुभएको थियो । शिक्षक अभिभावक संघका अध्यक्ष दीपक भुसालले स्वागत गर्नुभएको कार्यक्रमको सञ्चालन कक्षा ९ मा अध्ययनरत छात्रा यसोदा तिवारीले गर्नुभएको थियो । कार्यक्रमको अध्यक्षता विद्यालय व्यवस्थापन समिती अध्यक्ष लिलाधर गौडेलले गर्नुभएको थियो । माटेदेवल माविबाट २०७९ मा एसइई दिएका १९ मध्ये ३ जना विद्यार्थीले ए प्लस ल्याएका छन् । त्यस्तै ए ग्रेड ल्याउने १, बि प्लस ल्याउने ३, बि ग्रेड ल्याउने २, सि प्लस ग्रेड ल्याउने ६ र सि ग्रेड ल्याएर उत्तिर्ण हुने ४ जना विद्यार्थी रहेको विद्यालयले जनाएको छ ।