पर्वत –जिल्लाको दक्षिणी क्षेत्रलाई जोड्ने एक मात्र पक्कि सडक भत्कदा दक्षिण पर्वतको यात्रा कष्टकर हुने गरेको छ । कुश्मा नगरपालिका वडा न ९ चुवा अन्तर्गत दोविल्ला खण्डको सडक भत्केको बर्षौ वित्दा पनि सडक खण्डको मर्मत हुन सकेको छैन् । साना सवारी साधनहरु ५ सय मिटरको सडक कालोपत्रे नहुँदा दक्षिण तर्फको यात्रा गर्न समस्यामा पर्ने गरेका छन् । मध्यपहाडी लोकमार्गको दोविल्ला चोक देखि मोदीखोला पुलसम्मको झण्डै ५ सय मिटर सडक खण्ड विगत ३ बर्ष देखि जिर्ण अवस्थामा छ ।

३ बर्ष अघि दोविल्ला स्थित सुन्दरे खोलामा आएको बाढिका कारण उक्त सडक खण्ड भत्केको थियो । बाढिले गाडी सहित मानिसलाई बगाउँदा सडक आयोजनाका इन्जिनियर सहित २ जनाको मृत्यु भएको थियो । सडक भत्केको बर्षौ बित्दा पनि सडक मर्मतमा भने कुनै निकायले पनि चासो देखाएका छैनन् । यस अघि सडक डिभिजन कार्यालय बागलुङ मार्फत उक्त सडक कालोपत्रे भएको हो । सोहि सडक खण्डको सिल्मी क्षेत्रमा समेत बाढि र पहिरोले भत्काएको सडक भने निर्माण भएको छ । वारी क्षेत्रको सडक मर्मत नहुँदा सवारी आगमनका ठूलो समस्या परेको सवारी ब्यवसायीहरुले गुनासो गर्दै आइरहेका छन् ।
मध्य पहाडी लोकमार्ग देखि दोविल्ला स्थित सन्तोष चोकबाट मोदीखोलासम्मको सडकको नालीको सवै भाग भत्केको छ भने कालोपत्रे सवै उक्किएको छ । सडक मर्मतमा कुनै पनि निकायले चासो देखाएका छैनन् । यसले दक्षिणी क्षेत्रहरु कुश्मा नगरपालिका, पैयू, विहादी र महाशिला सवै ठाउँमा जाने सवारी साधनहरु समस्यामा पर्दै आइरहेका छन् ।