नयाँ आ.ब. सुरु भएको महिनादिन हुन लाग्दा समेत पर्वतका २ नगरको नीति,कार्यक्रम र बजेट आउन सकेन

107

पर्वत -नयाँ आर्थिक बर्ष शुरु भएको ३ हप्ता भन्दा बढि भईसक्दा पनि पर्वतका २ नगरपालिकाहरुमा बजेट, नीति तथा कार्यक्रम आउन सकेको छैन् । समयमै बजेट, नीति तथा कार्यक्रम आउन नसक्दाआर्थिक बर्षका आर्थिक गतिविधिहरु  बन्द छन् । चालु आर्थिक बर्षको नगर सभा अझै हुन नसक्दा २ नगरपालिकाका आर्थिक गतिविधिहरु बन्द भएका हुन् । कुश्मा नगर कार्यपालिकाले यस अघि साउन २२ गते नगरसभा गर्ने निर्णय गरेको थियो । हिजो साउन २२ गते पनि नगर सभा भएन । जनप्रतिनिधिहरु वीच सहमती जुट्न नसक्दा नगरसभा कुश्मामा मात्र होइन फलेवासमा पनि अन्यौलमा परेको छ ।

स्थानीय तह सञ्चालन ऐन २०७४ ले प्रत्येक असार १० गते भित्र नीति तथा कार्यक्रम र बजेट पेश गरिसक्नुपर्ने प्रावधान राखेको छ । यसरी पेश भएको बजेट, नीति तथा कार्यक्रमलाई १५ दिन भित्र नगरसभाले छलफल सहित पास गर्नुपर्ने हुन्छ । पेश भएको नीति तथा कार्यक्रम र बजेट उपर परिमार्जन गर्नुपरेमा नगर सभाले कार्यपालिकामा पुनः पठाउँछ ।

कार्यपालिकाले त्यसरी नगरसभाबाट आएको नीति तथा कार्यक्रमलाई परिमार्जन गरी १५ दिन भित्र पारित गर्नुपर्ने प्रावधान छ । तर, जिल्लाका दुई नगरपालिकाले तोकिएको समयमा नगर सभा गर्न सकेनन् । समयमा नगर सभा नगर्दा पालिकाको कार्य सम्पादन मूल्यांकनको अंक घटेको छ । यति मात्र होइन् महत्वपूर्ण विषय नगर सभामा पेश नै नभएको कर संकलन कार्य पनि विवादमा परेको छ । कुश्मा नगरकार्यपालिकाले निर्णय नै गरेर करको दररेट अर्को नगरसभा हुनु अघि साविक दररेटमै संकलन गर्ने निर्णय भने गरेको छ । तर, नयाँ नगरसभाले तोक्नुपर्ने दररेट पुरानै दररेटमा संकलन गर्दा जनप्रतिनिधिहरुको कार्यक्षमतामा माथि भने प्रश्न चिन्ह् खडा भएको छ ।

स्थानीय तह सञ्चालन ऐन २०७४ को दफा १३ ले न्यूनतम दररेट निर्धारणको विषय उल्लेख गरेको छ । उक्त दफामा आर्थिक बर्ष शुरु हुने १५ दिन अगावै दररेट निर्धारण गर्नुपर्ने प्रावधान छ । ऐनको दफा ५५ मा उल्लेख गरिएको एकिकृत सम्पत्ति कर र घर जग्गा कर प्रत्येक आर्थिक मसान्त पूर्व नै निर्धारण गर्नुपर्ने थियो, तर पालिकाहरुले यसो गर्न सकेका छैनन ।

नयाँ आर्थिक बर्षमा विभिन्न आयोजनामा रकम विनियोजन भई सोहि बमोजीमको खर्च कार्य योजना निर्माण गर्नुपर्ने बेलामा नगर सभा नहुँदा खर्च प्रक्रिया अन्यौलमा परेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here