पर्वतमा जनचेतनामूलक कार्यक्रम गरि मानव बेचबिखन विरुद्धको दिवस मनाइने

164

लक्ष्मण बिसि,पर्वत-पर्वत जिल्लामा विभिन्न जनचेतनामूलक कार्यक्रमहरु संचालन गरि मानव बेचबिखन विरुद्धको १७ औं राष्ट्रिय दिवस मनाइने भएको छ । आज प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको अध्यक्षतामा सम्पन्न जिल्ला समितिको बैठकले जनचेतनामूलक कार्यक्रम संचालन गरि दिवस मनाउने निर्णय गरिएको हो ।
सामाजिक न्याय र आर्थिक सशक्तीकरण: मानव बेचबिखनको निर्मुलन भन्ने नारा सहित यहीँ भाद्र २० गते मानव बेचबिखन विरुद्धको दिवस मनाइदैछ ।
मानव बेचबिखन जघन्य अपराध भएको बताउदै यसलाई रोक्नका लागि सबै सरोकारवाला निकायले पहल गर्नुपर्ने जिल्ला समन्वय समितिका प्रमुख बिष्णुराम बिकले बताउनुभयो ।
जिल्लाका ७ वटै पालिकाहरुमा जनचेतनामूलक कार्यक्रमका लागि पत्राचार गरि कार्यक्रम संचालन गर्न अनुरोध गरिने प्रजिअ प्रेम प्रसाद आचार्यले बताउनुभएको छ ।
मानव बेचबिखन विरुद्ध विभिन्न चेतनामूलक कार्यक्रम संचालन गरि संचार माध्यमहरुबाट सन्देशमुलक सूचनाहरु प्रचारप्रसारमा जोड दिनुपर्ने उहाँले बताउनुभयो ।
बिगत २ बर्ष यता पर्वतमा मानव बेचबिखनका कुनैपनि उजुरी नपरेको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायब उपरीक्षक मधुसूदन न्यौपानेले बताउनुभयो । मानव बेचबिखन सम्बन्धमा २०७८ सालमा जिल्ला प्रहरी कार्यालय पर्वतमा एउटा मात्र उजुरी परेको र दोषीले सजाय पाइसकेको उहाँले बताउनुभयो । मानव बेचबिखनका घटना हुन नदिन गाउँ गाउँमा चेतना फैलाउने कुरामा न्यौपानेले जोड दिनुभयो ।
मानव बेचबिखन भनेको कुनै पनि उद्देश्यले मानिसलाई बेच्ने वा किन्ने भन्ने बुझिन्छ । कुनै पनि व्यक्तिलाई जर्बजस्ती तथा धोका दिएर शोषण गर्नु, घरेलु काममा लगाउनु, मानव अंग झिक्नु वा अन्य प्रकारका यौन शोषणमा प्रयोग गर्नु र झुक्याएर अन्यत्र लैजाने कार्य नै मानव बेचबिखन तथा ओसार पसार हो । पदको दुरुपयोग, पैसाको विषयमा चेतनाको कमी, रोजगारीको अवसर कम हुनु आदिका कारण मानिसहरू बेचिने, ठगिने र बिचल्लीमा पर्ने गरेका छन् ।

मानिस बेचिने, ठगिने र बिचल्लीमा पर्ने कार्यबाट जोगिन सचेत हुनुपर्ने र मानब बेचबिखन विरुद्ध सरोकारवाला निकायले जनचेतनामुलक तथा सशक्तिकरणका कार्यक्रम संचालन गर्नुपर्ने बैठकका सहभागीहरुले बताएका छन् ।
प्रमुख जिल्ला अधिकारी प्रेम प्रसाद आचार्यको अध्यक्षमा रहेको जिल्ला समितिको सदस्यहरुमा जिल्ला न्यायधिवक्ता केदारनाथ उपाध्याय, डिएसपी मधुसूदन न्यौपाने, पत्रकार लक्ष्मण विश्वकर्मा र सदस्य सचिवमा प्रशासकीय अधिकृत दिलिप सुवेदी रहनुभएको छ । त्यस्तै आमन्त्रित सदस्यहरुमा जिल्ला समन्वय समिति पर्वतका प्रमुख बिष्णुराम बिक रहनुभएको छ । बैठकमा सहायक प्रमुख जिल्ला अधिकारी गणेश प्रसाद पौडेल, भू-तथा जलाधार व्यवस्थापन कार्यालय पर्वतका प्रमुख दिवाकर पौडेल र प्रशासकीय अधिकृत नवीन सुवेदी लगायतको उपस्थिति रहेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here