पर्वत-पर्वत उद्योग वाणिज्य संघले जिल्लामा प्रहरी प्रमुखको रुपमा आउनुभएका नवागंतुक प्रहरी नायब उपरीक्षक (डिएसपी)खुमलाल भुसाललाई स्वागत गरेको छ । आज एक कार्यक्रमको आयोजना गरि प्रहरी प्रमुख भुसाललाई स्वागत गरिएको हो ।
कार्यक्रममा बोल्दै डिएसपी भुसालले जिल्लाको शान्ति, सुरक्षा र अमनचयनका लागि सबैसँग समन्वय र सहकार्य गर्दै काम गर्ने बताउनुभएको छ । कानूनको दायराभित्र रहेर निष्पक्ष रूपमा तटस्थ भएर कार्य सम्पादनमा जोड दिने उहाँले प्रतिवद्धता व्यक्त गर्नुभयो ।
विगतका कार्यालय प्रमुखहरुले गरेका नियमित कार्यक्रमहरुलाई निरन्तरता दिँदै आफुले केहि नयाँ र रचनात्मक काम गर्ने समेत बताउनुभयो । जिल्लाका विभिन्न स्थानमा रहेको सिसी टिभीको तत्काल मर्मतका लागि पहल गर्ने,अपराध न्यूनीकरण, बलत्कार, आत्महत्या तथा झैझगडा जस्ता गैरकानूनी क्रियाकलापको नियन्त्रणका लागि जनचेतना जगाउने कार्यक्रम संचालन गर्ने बताउनुभयो । शहरी क्षेत्रलाई मात्र नभएर सदरमुकाम भन्दा टाढा रहेका बजार तथा बस्तीहरुको शान्ति सुरक्षामा समेत विशेष ध्यान पुयाउने उहाँको भनाई छ ।
त्यस्तै कालीगण्डकी नदीको दोहन तथा उत्खनन रोक्नका लागि प्रहरीले खेल्नुपर्ने भुमिकामा सक्रिय हुने डिएसपी भुसालले बताउनुभयो ।
कार्यक्रममा बोल्दै पर्वत उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष ठाकुर बि पौडेलले प्रहरीको कार्यमा उद्योग वाणिज्य संघले समन्वय र सहकार्य गर्ने बताउनुभयो । प्रहरीले संचालन गर्ने हरेक क्रियाकलापमा संघको सकारात्मक साथ र सहयोग रहने उहाँले बताउनुभयो । जिल्लाको शान्ति, सुरक्षा र अमनचयनका लागि उत्कृष्ट र रचनात्मक कार्यसम्पादनका लागि पौडेलले शुभकामना व्यक्त गर्नुभयो ।
कार्यक्रममा जिल्लाका विभिन्न उद्योगी तथा व्यवसायीहरुको उपस्थिति रहेको थियो । पर्वत उद्योग वाणिज्य संघका अध्यक्ष गोपी अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन महासचिव रमेश शर्मा लामिछानेले गर्नुभएको थियोे ।