पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी राम्चेका क्यान्सर रोगी बुद्धि बहादुर सुनारलाई ८८ हजार ४ सय ८ रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ ।
फलामखानी निवासी साक्षी मिडिया प्रालिद्वारा संचालित नयन न्युज डटकमका प्रबन्ध निर्देशक तथा संचालक एवम् समाजसेवी लक्ष्मण विश्वकर्माको पहलमा संकलित उक्त रकम असोज १ गते विश्वकर्मा पुजाका दिन एक कार्यक्रमको बिच हस्तान्तरण गरिएको हो ।
स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, आमा समुह, स्थानीय समाजसेवी,बुद्धिजीवी लगायतको रोहवरमा देश तथा बिदेशमा रहेका सहयोगीहरुबाट प्राप्त सहयोग रकम हस्तान्तरण गरिएको रकम संकलन अभियन्ता पत्रकार लक्ष्मण विश्वकर्माले जानकारी दिनुभयो ।
दुखेको घाउमा मलम लगाउनु, समस्याको बेला सेवा र सहयोग गर्नु नै सबैभन्दा ठुलो मानव धर्म भएको विश्वकर्माले बताउनुभयो ।सेवा नै धर्म मानेर मानवीय संवेदना बुझेर दुखेको घाउमा मलम लगाउन तयार भएर अतुलनीय सहयोग गर्नुहुने कोमलका धनी सम्पुर्ण सहयोगी महानुभावहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । बिगतमा पनि विभिन्न रोगले ग्रसित भएर आर्थिक अभावमा उपचार गर्न नसकेकाहरुलाई आर्थिक संकलन गरि हस्तान्तरण गरेको बताउदै अशक्त तथा जटिल रोगका बिरामीहरुलाई सम्बन्धि सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा पत्रकार विश्वकर्माले जोड दिनुभयो । रामु सुनार र प्रकाश सुनारको पहल फलामखानी पात्ला हाल साउदीबाट ३६ हजार ३ सय १९,दल बहादुर सुनार फलामखानी डाँडाघर हाल कुवेतबाट ११ हजार १ सय, मिलन क्षेत्री (राजु) फलामखानी घण्टे हाल काठमाडौंबाट १० हजार,बाबुराम गदाल फलामखानी पात्ला हाल काठमाडौबाट ७ हजार ५ सय,सन्देश रेग्मी जैमिनी-६ अर्जेवा बागलुङ हाल दक्षिण कोरियाबाट ३ हजार,ज्योति बिसि जैमिनी-३,दमेक बाग्लुङबाट २ हजार, हर्क बहादुर नेपाली (दुर्लुङ) पोखरा हाल दुबईबाट ५ हजार,राजकुमार विश्वकर्मा स्याङ्जा सिरुवारी हाल बहराइनबाट ५ हजार ५,मनोज सुनार अर्गाउदी सानोपानी हाल साउदीबाट ३ हजार ४ सय ८४ र सुरेश घतान कुश्मा-१,पाङ, हाल पोर्चुगलबाट ५ हजार गरि जम्मा ८८ हजार ४ सय ८ रुपैयाँ सहयोग प्राप्त भएको र उक्त रकम हस्तान्तरण गरिएको विश्वकर्माले बताउनुभयो । सहयोग रकम बुझ्दै क्यान्सर पीडित बुद्धि बहादुर सुनारले देश विदेशमा रहेर सहयोग गर्नुहुने सम्पुर्ण आफन्त, दाजुभाइ तथा दिदिबहिनी र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो बारेमा यथार्थ समाचार लेखेर सहयोग संकलन गरि आफुलाई प्रदान गरेकोमा खुसी व्यक्त गर्दै पत्रकार लक्ष्मण विश्वकर्मालाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । आफुलाई प्राप्त भएको सहयोग रकमले उपचारमा ठुलो राहत पुगेको बताउदै उपचारमा खर्च गर्ने बताउनुभयो । महाशिला-६,फलामखानीमा नवनिर्मित विश्वकर्मा मन्दिरको उद्घाटन समारोहका अवसरमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको थियो । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख बिष्णुराम बिक, महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी प्रसाद भुसाल, उपाध्यक्ष धनसुवा बिक, फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर बिक लगायतको उपस्तिथि रहेको थियोे ।