29.1 C
Kathmandu
Saturday, July 27, 2024

नेकपा एकीकृत समाजवादीद्धारा मेची-महाकाली समाजवादी जागरण अभियान

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले मेची-महाकाली समाजवादी जागरण अभियानको शुभारम्भ गरेको छ।

पार्टी अध्यक्ष माधवकुमार नेपालले मेचीदेखि महाकालीसम्मका जनतालाई आफ्नो पार्टीसँग जोड्नका लागि मेची-महाकाली समाजवादी जागरण अभियानको थालनी गरिएको बताउनु भएको छ।

एकीकृत समाजवादीद्वारा आयोजित मेची-महाकाली जागरण अभियानको उद्घाटन गर्दै आइतबार पार्टी अध्यक्ष तथा पूर्वप्रधानमन्त्री नेपालले देशको हालको स्थिति र आगामी दिनमा पार्टीले लिने कार्यदिशा जनतालाई अवगत गराउन अभियानको सुरुवात गरिएको बताउनु भयो।

आफ्नो पार्टी कम्युनिष्ट पार्टी भएकाले जनताका घरघर जान दलका नेता तथा कार्यकर्तालाई नेपालले निर्देशन दिनु भएको थियो। अभियान सुरुवाती सभालाई सम्बोधन गर्दै पार्टीका सम्मानित नेता झलनाथ खनालले अहिलेको सरकारले जनताका कुनै काम नगरेको दाबी गर्नुभयो। संविधानले नेपाली जनतालाई हक दिए पनि अझै खाने र बस्ने हक नपाएको उहाँको भनाई छ।

अभियान सुरुवात गर्न पार्टी अध्यक्ष माधवकुमार नेपाल, सम्मानित नेता झलनाथ खनाल, उपाध्यक्ष बेदुराम भुसाल, महासचिव घनश्याम भुसाललगायत नेता काँकरभिट्टा पुग्नु भएको थियो।  यात्राका क्रममा करिब एक हजार किलोमिटर यात्रा तय गरिने पार्टीका उपमहासचिव जगन्नाथ खतिवडाले जानकारी दिनुभयो।

असाेज १५ गते इटहरी, इनरुवा, भारदह, राजविराजमा सभा हुनेछन्। १६ राजविराज, छिन्नमस्त, अर्नाह, भगवानपुर, सिरहा सदरमुकाम, बन्दीपुर र जदुकुहामा सभा आयोजना हुने कार्यक्रम रहेको छ। १७ असोजमा जनकपुरमा पत्रकार सम्मेलन हुने र त्यसपछि सोही दिन जलेश्वर, ढल्केबर, बर्दिबास र लालबन्दीमा सभा हुनेछ। १८ असोजमा गरुडा, हर्नैया, कलैया र वीरगन्जमा सभा हुनेछ। त्यस्तै १९ असोजमा पथलैया, हेटौँडा, मनहरी, भण्डारा र भरतपुरमा सभा आयोजना हुनेछ।

असोज २० मा कावासोती, बर्दघाट र परासी तथा २१ असोजमा भैरहवा र बुटवलमा सभा आयोजना हुनेछ। त्यस्तै सैनामैना, चन्द्रौटा, भालुवाङ, लमहीमा २२ असोजमा र घोराही, तुल्सीपुर र कोहलपुरमा २३ असोजमा सभा आयोजना हुनेछ।

अभियानअन्तर्गत २४ असोजमा नेपालगन्ज, खजुरा, मैनापोखरा र गुलरियामा तथा २५ असोजमा राजापुर र टीकापुरमा सभा गर्ने एकीकृत समाजवादीको कार्यतालिका छ। त्यस्तै २६ असोजमा लम्की, सुख्खड, अत्तरिया र धनगढी तथा २७ असोजमा पुनर्वास, झलारी, लालपुर र महेन्द्रनगरमा सभा हुनेछ भने २८ असोजमा छिन्चु र २९ गते सुर्खेतमा अभियानअन्तर्गतका सभा आयोजना हुने पार्टीले जनाएको छ।

ताजा

Related Articles