क्यान्सर पीडित बुद्धि सुनारलाई आर्थिक सहयोग हस्तान्तरण

66

पर्वत- आर्थिक अभावमा उपचारमा समस्या भोगिरहेका पर्वतको महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी राम्चेका घाँटीको क्यान्सर रोगी बुद्धि बहादुर सुनारलाई सहयोग रकम हस्तान्तरण गरिएको छ । साक्षी मिडिया प्रालिद्वारा संचालित नयन न्युज डटकमका प्रबन्ध निर्देशक तथा संचालक पत्रकार लक्ष्मण विश्वकर्माले सहयोगीहरुबाट प्राप्त २८ हजार ६ सय रुपैयाँ सनिवार पीडितको घरमै पुगेर हस्तान्तरण गर्नुभएको हो ।
महाशिला गाउँपालिका वडा नं. ६ फलामखानी घर भै हाल रोजगारीको सिलसिलामा दोहा कतारमा रहनुभएका दिपक सुनारले आफू र आफ्नो साथीहरूसँगबाट संकलन गरि पठाएको २७ हजार ५ सय ६८ र शिव शर्मा बिरहीको तर्फबाट प्राप्त १ हजार १ सय गरि २८ हजार ६ सय हस्तान्तरण गरिएको हो । यसअघि गत असोज १ गते पत्रकार विश्वकर्माले विभिन्न सहयोगीहरुबाट प्राप्त ८८ हजार ४ सय ८ रुपैयाँ पीडित सुनारलाई हस्तान्तरण गरिसक्नुभएको छ । यो रकमसँगै पत्रकार विश्वकर्माको पहलमा क्यान्सर पीडित बुद्धि बहादुर सुनारलाई १ लाख १७ हजार ८ रुपैयाँ सहयोग प्राप्त भएको छ भने अन्य सहयोगीले समेत पीडितलाई आर्थिक सहयोग गर्नुभएको छ । आर्थिक अभावमा उपचार हुन नसकेको समाचार नयन न्युज डटकममा प्रकाशन भएपछि देश तथा विदेशबाट उक्त सहयोग प्राप्त भएको हो । पत्रकारिता पेसा एउटा समाजसेवा र सामाजिक कार्य भएको बताउदै दुख, पिडा र समस्यामा परेका व्यक्ति तथा समुदायको आवाजलाई मुख्य प्राथमिकता दिएर त्यस्ता घटना तथा गतिविधिलाई बुलन्द पार्न जोड दिनुपर्ने पत्रकार विश्वकर्माले बताउनुभयो ।
दुखेको घाउमा मलम लगाउनु, समस्याको बेला सेवा र सहयोग गर्नु नै सबैभन्दा ठुलो मानव धर्म भएको उहाँको भनाइ छ । सेवा नै धर्म मानेर गाँस कटाएर आर्थिक सहयोग गर्नुहुने र आफ्नो सकारात्मक कार्यमा साथ दिनुहुने सम्पुर्ण सहयोगी महानुभावहरुलाई पत्रकार विश्वकर्माले धन्यवाद व्यक्त गर्नुभयो । बिगतमा पनि विभिन्न रोगले ग्रसित भएर आर्थिक अभावमा उपचार गर्न नसकेकाहरुलाई आर्थिक संकलन गरि हस्तान्तरण गरेको बताउदै अशक्त तथा जटिल रोगका बिरामीहरुलाई सम्बन्धित सरोकारवालाहरुले ध्यान दिनुपर्नेमा पत्रकार विश्वकर्माले जोड दिनुभयो । सहयोग रकम बुझ्दै क्यान्सर पीडित बुद्धि बहादुर सुनारले देश विदेशमा रहेर सहयोग गर्नुहुने सम्पुर्ण आफन्त, दाजुभाइ तथा दिदिबहिनी र सहयोगीहरुलाई धन्यवाद व्यक्त गर्नुभयो । आफ्नो समस्याका बारेमा समाचार लेखेर सहयोग संकलन गरि आफुलाई प्रदान गरेकोमा खुसी व्यक्त गर्दै पत्रकार लक्ष्मण विश्वकर्मालाई उहाँले धन्यवाद व्यक्त गर्नुभयो । आफुलाई प्राप्त भएको सहयोग रकमले उपचारमा ठुलो राहत पुगेको बताउदै उपचारमा खर्च गर्ने बताउनुभयो ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here