28.1 C
Kathmandu
Monday, July 15, 2024

भूमि आयोग पर्वतमा ३५५ निवेदन, लालपुर्जा वितरण गर्ने तयारीमा छौँ-अध्यक्ष सुवेदी

पर्वत-राष्ट्रिय भूमि आयोग जिल्ला समिति पर्वतमा हालसम्म ३ सय ५५ जना भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको निवेदन फाराम उपलब्ध भएका छन् । जलजला गाउँपालिकाबाट २ सय ३९, मोदी गाउँपालिकाबाट ५८, बिहादी गाउँपालिकाबाट ३० र महाशिला गाउँपालिकाबाट २८ गरि ३ सय ५५ वटा निवेदन फाराम जिल्ला समितिमा प्राप्त भएको जिल्ला समिति पर्वतका अध्यक्ष उदय प्रसाद सुवेदीले जानकारी दिनुभयो । त्यस्तै कुश्मा नगरपालिकाबाट १ सय २२ र फलेवास नगरपालिकाबाट १ सय ७५ निवेदन फाराम जिल्ला समितिमा आउने तयारीमा रहेको उहाँले बताउनुभयो । वडा, पालिका हुँदै प्रक्रिया पुगेर जिल्ला समितिमा आएका निवेदनहरुको जाँचबुझ गरी हालसम्म ३९ लाभग्राही कायम गरि जग्गा उपलब्ध गराउने प्रक्रिया अगाडि बढाउने निर्णय भएको र अन्य निवेदकको छानबिन कार्य अगाडि बढेको सुवेदीले बताउनुभयो । जिल्ला समितिको हालसम्मको निर्णय अनुसार कागजी प्रक्रिया पुगेका जलजला, मोदी र बिहादी गाउँपालिकाका ३९ जना भूमिहीन दलित र भूमिहीन सुकुम्बासीहरुले जग्गा पाउने निश्चित भएको र नापजाँच गरि लालपुर्जा वितरण गर्ने तीव्र तयारी भएको जिल्ला अध्यक्ष सुवेदीले बताउनुभयो । प्रक्रिया पुगेका र जिल्ला समितिबाट निर्णय भएका लाभग्राहिहरुका लागि सम्बन्धित पालिकामा जग्गा व्यवस्थापन गर्न अनुरोध गरिएको र नापीटोलीबाट नापजाँच गरि फिल्डबुक तयार पारेर जग्गाको लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो । सुवेदीले भन्नुभयो “हामी दिनरात आयोगको काममा खटिएका छौँ,निकै लामो समयको प्रयासपछि हालसम्म ३९ लाभग्राहीहरु कायम गर्न सफल भएका छौ ।”अब पालिकालाई जग्गा खोज्न लगाउछौ अनि पालिकामा नै कार्यक्रम आयोजना गरि पुर्जा वितरण गर्छौं ।” पालिकाहरुबाट प्राप्त भएका निवेदनहरुको बारेमा नियमित बैठक बसेर छ्लफल तथा जाँचबुझ भएको बताउदै जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुलाई जतिसक्दो चाडै पुर्जा वितरण कार्यमा जोड दिएको अध्यक्ष सुवेदीले बताउनुभयो । अहिले जिल्ला समितिमा प्राप्त बिहादी, मोदी, जलजला र महाशिला गाउँपालिकाका निवेदनहरुको छानबिन भैरहेको उहाँको भनाइ छ । त्यस्तै कुश्मा नगरपालिका, फलेवास नगरपालिका र पैंयु गाउँपालिकाबाट भने निवेदन फाराम जिल्ला समितिमा आउने तयारीमा छन् । लाभग्राही कायम भएका सुकुम्बासीहरुले राष्ट्रिय भूमि आयोगको प्राबधान र मापदण्डअनुसार जग्गा प्राप्त गर्नेछन् । जग्गा पाउने भएपछि भूमिहीन सुकुम्बासीहरु खुसी भएका छन् । यसैबीच कुश्मा नगरपालिकामा नगर स्तरीय सहजीकरण समिति गठन भएको छ । राष्ट्रिय भुमि आयोगको कार्यविधि अनुसार जनप्रतिनिधि र सरोकारवालाको सहजीकरण समिति गठन भएको बताइएको छ ।

ताजा

Related Articles