12.1 C
Kathmandu
Saturday, February 7, 2026

भुकम्प प्रभावितलाई बाग्लुङबाट ५० लाखको राहत पठाइयो

पर्वत-भूकम्पले क्षति पुगेको पश्चिम नेपालको जाजरकोट र रुकुम पश्चिममा बागलुङबाट पहिलो चरणमा कम्तीमा रू ५० लाखको राहत पठाइएको छ । जिल्ला विपद् व्यवस्थापन समितिमा सहभागी जनप्रतिनिधिको निर्णय अनुसार आज ३ वटा ट्रकमा राहत सामाग्री पठाइएको सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले जानकारी दिनुभयो । बैठकले घटनामा मृत्यु भएकाप्रति श्रद्धाञ्जली अर्पण गर्दै घाइतेको शीघ्र स्वास्थ्य लाभको कामना पनि गरेको छ । गत शुक्रबार राति जाजरकोट केन्द्रबिन्दु भएर ६ दशमलव ४ रेक्टर स्केलको भूकम्प गएको थियो । भूकम्पमा परेर एक सय ५७ जनाको मृत्यु भएको छ । दुई सय ५० बढी घाइते छन् भने सयौँ मानिस घरबारविहीन भएका छन् । बैठकमा उपस्थित सबैले आफ्नो आफ्नो क्षेत्रबाट सहयोग गर्ने प्रतिबद्धता जनाएका थिए । सङ्कलित सहयोगलाई जिल्ला प्रशासनमार्फत वितरण गर्ने निर्णय भएको समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले बताउनुभएको छ । अन्य सङ्घसंस्थाको सहयोग पनि व्यवस्थापन गरेर थप सहयोग पठाइने रिजालको भनाई छ । जिल्लाका ४ वटा नगरपालिकाले रू छ लाख ३० हजारको दरले र ६ वटा गाउँपालिकाले रू चार लाख २० हजारका दरले गरी रू ५० लाख सहयोग गर्ने निर्णय भएको बागलुङ नगरपालिकाका प्रमुख वसन्तकुमार श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार उक्त रकममध्ये नगद प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने तथा अत्यावश्यक सामग्री खरिद गरेर पीडितलाई वितरण गर्ने तयारी भएको छ । भूकम्प पीडितको वितरणका लागि जिल्लाको टोली त्यसतर्फ आज जाने श्रेष्ठको भनाइ थियो । उहाँका अनुसार बागलुङ उद्योग वाणिज्य सङ्घको नेतृत्वमा सङ्घसंस्थाले पनि राहत सामग्री सङ्कलन गरिरहेका छन् । “हामीले न्यानो कपडा सङ्कलन गरिरहेका छौँ । वितरणका लागि टिम बनाएर पठाउने तयारी छ”, उनले भने, “पीडितलाई जे आवश्यक छ । त्यो पुर्याउन प्रशासनले पनि समन्वय गरिदिनुपर्छ ।” बैठकमा पुगेका सिवाइसी नेपालका अध्यक्ष चण्डीप्रसाद शर्माले भूकम्प पीडितका लागि रू ५० हजार सहयोग गर्ने घोषण गरे । कालीका भगवती गुठी व्यवस्थापन समितिले रू एक लाख दिने समितिका अध्यक्ष कुमार खड्काले जानकारी दिनुभयो । सहायक प्रमुख जिल्ला अधिकारी चित्राङगत बरालले रुकुम पश्चिम र जाजरकोटका प्रमुख जिल्ला अधिकारीलाई सम्पर्क गरेर त्यहाँ आवश्यकपर्ने सामानको प्राथमिकीकरण गरिदिन आग्रह गर्नुभएको छ । विशेषगरी जाडो मौसम भएकाले न्यानो कपडा, खाद्यान्न र औषधि आवश्यकपर्ने भएकाले सोही प्रकारको सामान सङ्कलनलाई तीव्रता दिएको भन्दै आजसम्ममा प्रभावित क्षेत्रमा उक्त सामग्री पुर्याउने तयारी भएको र भोलि उक्त सामाग्री वितरण गरिने उहाँको भनाइ छ । नेपाल रेडक्रस सोसाइटीका सभापति जगन्नाथ आचार्यले कम्तीमा ५० परिवारका लागि पाल, कम्मल र खाने पकाउने भाँडाको व्यवस्थापन गर्ने बताउनुभयो । बैठकमा उपस्थित भएका सुरक्षा निकायका प्रमुखहरुले आवश्यकताका आधारमा स्वयंसेवक पठाउन सक्ने, सुरक्षाको व्यवस्थापनमा सहयोग गर्ने बताएका छन्। बेपत्तासको खोजी उद्धार सकिएकाले पुनः निर्माणलगायतका काममा जिल्लाबाट आवश्यक सहयोगका लागि टिम तयार गर्ने विषयमा छलफल समेत भएको थियो । जैमिनी नगरपालिकाका प्रमुख नरबहादुर पुनले बस्ने व्यवस्थापन समस्या हुने भएकाले न्यानो कपडा र अस्थायी टहरा बनाउने काममा जिल्लाबाट साथ दिनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य देवेन्द्र पौडेलले प्राथमिकताका आधारमा सहयोग जुटाउन आग्रह गर्नुभयो । पहिलो चरणको राहत प्याकेज सोमबार गएको र दोस्रो प्याकेजमा थप सामग्री तथा स्वयंसेवकसमेत लैजाने गरी कार्यक्रम बनाइएको सहायक प्रजिअ बरालले बताउनुभयो ।

ताजा

Related Articles