28.1 C
Kathmandu
Tuesday, July 16, 2024

पर्वतमा भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीलाई निस्सा वितरण, लालपुर्जा वितरणको तिव्र तयारी

पर्वत-जिल्लामा रहेका भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुले घरजग्गाको लालपुर्जा पाउने भएका छन् । राष्ट्रिय भुमि आयोग जिल्ला समिति पर्वतले दिएको जानकारी अनुसार विभिन्न पालिकाका ३ सय ६ जनाले लालपुर्जा पाउने भएका हुन् । लाभग्राही कायम भएका निवेदकहरुलाई निवेदन दर्ता तथा नापनक्साको निस्सा वितरण समेत गरिएको छ । हालसम्म जिल्लाको जलजला,मोदी, महाशिला र बिहादी गाउँपालिकाबाट भूमिहीन दलित, भूमिहीन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको ३ सय ६० वटा निवेदन प्राप्त भएको र जिल्ला समितिको निर्णय अनुसार ३ सय ६ निवेदनको पुनर्पुष्टी गरिएको जिल्ला समिति पर्वतका अध्यक्ष उदय प्रसाद सुवेदीले जानकारी दिनुभयो । पुनर्पुष्टि भएका निवेदकहरुलाई आवश्यक नियम र प्रक्रिया पूरा गरि जतिसक्दो छिट्टै लालपुर्जा वितरण गरिने उहाँले बताउनुभयो ।


भूमिहीन दलित ४२,भूमिहीन सुकुम्बासी २७ र अव्यवस्थित बसोबासी २ सय ३७ गरि ३ सय ६ निवेदकका निवेदनमा छानबिन गरि पुनर्पुष्टी गरिएको उहाँले बताउनुभयो । निर्णय भएका निवेदकको विवरण सम्बन्धित पालिकामा पठाइ पालिकाले निवेदकलाई जग्गा उपलब्ध गराउने क्षेत्रफल सहितको विवरण फाराम भरेर जिल्ला समितिमा पठाएपछि नापी टोलीले नापजाँच गरि फिल्डबुक तयार गरेपछि लालपुर्जा वितरण गरिने उहाँको भनाइ छ । सुवेदीले भन्नुभयो “हामी दिनरात आयोगको काममा खटिएका छौँ,निकै लामो समयको प्रयासपछि हालसम्म ३ सय ६ लाभग्राहीहरु कायम गर्न सफल भएका छौ ।”अब पालिकालाई जग्गा खोज्न लगाउछौ अनि पालिकामा नै कार्यक्रम आयोजना गरि पुर्जा वितरण गर्छौं ।” पालिकाहरुबाट प्राप्त भएका निवेदनहरुको बारेमा नियमित बैठक बसेर छ्लफल तथा जाँचबुझ भएको र प्रक्रिया नपुगेका निवेदनलाई सच्याउनको लागि वडामा फिर्ता गरिएको सुवेदीले बताउनुभयो । त्यस्तै कुश्मा नगरपालिकाबाट १ सय ७५, फलेवास नगरपालिकाबाट १ सय ७७ र पैंयु गाउँपालिकाबाट ७५ गरि ४ सय २७ निवेदनहरु जिल्ला समितिमा आउने तयारीमा रहेको बताइएको छ । लाभग्राही कायम भएका सुकुम्बासीहरुले राष्ट्रिय भूमि आयोगको प्राबधान र मापदण्ड अनुसार आवास र खेतीका लागि जग्गा प्राप्त गर्नेछन् । । लामो समयदेखि भूमिहीन रहेका र अव्यवस्थित बसोबास गरेका सुकुम्बासी र अव्यवस्थित बसोबाससीहरुले लालपुर्जा पाउने भएपछि खुसी भएका छन् ।

ताजा

Related Articles