28.1 C
Kathmandu
Monday, July 15, 2024

महाशिलाका ६ वटै वडामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा उपलव्ध

पर्वत-पर्वतको महाशिला गाउँपालिकाले गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा दिन शुरु गरेको छ । गर्भवतीले प्रत्येक महिना गर्ने भिडियो एक्सरे सेवा अब निःशुल्क रुपमा वडामै रहेको स्वास्थ्य चौकीमा उपलव्ध गराउन थालेको हो ।
गर्भवती र गर्भमा रहेको शिशुको अवस्था थाहा पाउन भिडियो एक्सरे सेवा प्रदान गर्न लागिएको महाशिला गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख नरबहादुर बरालले जानकारी दिनुभयो । यो सेवाबाट गर्भवतीको अवस्था र शिशुको अवस्था पत्ता लाग्ने, उनीहरूको अवस्थामा समस्या रहेमा गाउँपालिकाकै स्वास्थ्य संस्था र जोखिम भए अन्यत्र रिफर गरिने उहाँले बताउनुभयो ।
गाउँपालिकाका ६ वटै वडामा रहेका स्वास्थ्य चौकीमा उक्त सेवा उपलव्ध गराईने भएको छ । प्रत्येक ३/३ महिनामा वडाको स्वास्थ्य चौकीमा सेवा उपलब्ध गराइने र दोस्रो चरणको सेवा बिहीवारबाट सुरु भएको उहाँले बताउनुभयो । सेवा १६ गतेसम्म ६ वटै वडामा पुगेर टुंग्याईने भएको छ ।
पहिलो दिन बिहीवार वडा नं. १ होश्राङदीमा, १६ गते वडा नंं ४ पाखापानीमा, १८ गते वडा नं। २ भोक्सिङ्ग स्वास्थ्य चौकीमा भिडियो एक्सरे सेवा उपलव्ध गराईने भएको छ ।
त्यसैगरी पुस २२ गते वडा नं. ६ फलामखानीमा, पौष २४ गते वडा नं। ३ बालाकोट र पौष २६ गते पाखापानी सामुदायिक स्वास्थ्य ईकाईमा सेवा दिईने बरालले जानकारी दिनुभयो ।
गाउँपालिकाको वडा नं. ५ लुंखुदेउरालीमा रहेको प्राथमिक स्वास्थ्य केन्द्रमा भने चौविसै घण्टा भिडियो एक्सरे सेवा उपलव्ध हुँदै आएको छ । उक्त केन्द्रसम्म आउन नसक्ने, विपन्न, असहाय तथा सवारी साधानमा आउँदा अन्य जोखिमहरु समेत हुने भएकाले वडामै पुगेर एक्सरे सेवा दिन थालिएको महाशिला गाउँपालिकाका अध्यक्ष इश्वरी भुसालले जानकारी दिनुभयो ।
उहाँले गर्भवतीलाई सरल र सहज तरिकाबाट अल्ट्रासाउण्ड सेवा पुर्याउनका लागि निःशुल्करुपमा ग्रामीण अल्ट्रासाउण्डको सुरुआत भएको र हरेक महिना सञ्चालन हुने जानकारी दिनुभयो । महाशिलाले गत वर्षदेखि वडामै भिडियो एक्सरे सेवा उपलब्ध गराउँदै आएको छ ।

ताजा

Related Articles