28.1 C
Kathmandu
Tuesday, July 16, 2024

बागलुङ महोत्सव: उपभोक्ताको रोजाइमा गाउँका मौलिक उत्पादनहरु

बागलुङ- बालबालिका पिङमा रमाइरहेका छन् । किशोरकिशोरी कलाकारका गीतमा झुमेका छन् । कसैलाई खेलको चिन्ता, कसैलाई व्यवसायको चिन्ता ।
बुधबारदेखि सुरु भएको सातौं बागलुङ महोत्सवको मुख्य मञ्चको दाया तर्फका स्टलहरु भने भरिभराउ छन् । महोत्सवमा पुग्ने हरेकले एकपटक त्यहाँ पुग्छन् । ‘बागलुङ ब्राण्ड’ नाम दिइएको स्टलमा बागलुङमा उत्पादन हुने हरेक बस्तुहरुको प्रदर्शनी गरिएको छ ।

ताराखोलाको ढुंगादेखि जैमिनीको बाँकोको गुन्द्रुक स्टलमा छन् । जिल्लामा सबैभन्दा धेरै प्राङ्गारिक वस्तुहरुको उत्पादन हुने ताराखोलाले महोत्सवबाट ढुंगा चिनाउँदै छ । गाउँपालिकाले उद्यम विकाश शाखाको व्यवस्थापनमा ताराखोलाको असली ढुंगाबाट बनेका सामग्री प्रदर्शनीमा राखेको छ ।

गाउँघरमा चटनी (पिनेर बनाइने अचार) पिद्न काम लाग्ने सिलौटोलगायतका तयारी सामग्री प्रदर्शनीमा छन् । ‘यो ताराखोलाको असली ढुंगा चिनाउनका लागि प्रदर्शनीमा राखिएको हो, धेरैले हेरेर जानुभयो, केहीले किनेर लैजानुभया,े’ ताराखोलाकी उद्यम विकास सहजकर्ता निरु घर्ती मगरले भनिन् ‘अरु खाद्य बस्तुहरु पनि प्रदर्शनीमा छन् ।’

ताराखोलाको उत्पादन भुटेको मकै, रातो च्याउ, सिल्टीमुर, मकैको आँटो, सिमी, कर्कलोको भुजुरी, मुलाको धजरा, सिन्की (गुन्द्रुक), चुल्ठे अमिलो, सिस्नोको धुलो, अल्लोको कपडा, अल्लो धागो, उनी सल र अल्लोका झोलाहरु तथा हाते कागज प्रदर्शनीमा राखेको छ । किवी फल, निगालोको काइँयोले महोत्सवमा पुग्ने दर्शकलाई आकर्षित गरेको छ ।

‘अहिले बिक्री र आम्दानीभन्दा पनि पहिचान र प्रचारका लागि हामीयहाँ आएका हुँ,’ घर्तीले भनिन् ‘बिक्री वितरण पनि सन्तोषजनक छ ।’ महोत्सवमार्फत् जिल्लाको पहिचान दिने तथा स्थानीय उत्पादनको बिक्रीसँगै प्रचारप्रसार गर्ने उद्देश्यले स्टल राखिएको रुद्रताल सामाजिक उद्यमी महिला सहकारी जैमिनी नगरपालिका–३ दमेकका अध्यक्ष चित्रा छन्त्यालले बताइन् । मकै, भटमास, आलु चिप्स, बाँकोको गुन्द्रक, सिस्नोको पाउडर, मङ्सिरे सिमी तथा भाँगो सहकारीले स्टलमा राखेको छ ।

महोत्सवमा अन्य स्टलहरुमा भन्दा स्थानीय उत्पादन प्रदर्शनी भइरहेकै स्टलमा दर्शकको चासो बढी रहेको आयोजक संस्था बागलुङ उद्योग बाणिज्य संघका प्रेस सल्लाहकार सुवास आचार्यले बताए । ‘हामीसँग खानादेखि नानाका स्टल छन्, बालबालिकाले पिंङ र बयस्कले ‘बागलुङ ब्राण्ड’ उत्तिकै प्राथमिकतामा राखेका छन्,’ उनले भने ।

महोत्सवका माध्यमबाट स्थानीय उत्पादनको महत्व बढाउन सहज हुने बागलुङ उद्योग वाणिज्य संघका अध्यक्ष नरेश कँडेलले जानकारी दिए । महोत्सवलाई गण्डकी प्रदेशस्तरीय पर्यटन, कृषि तथा औद्योगिक व्यापार मेलास्तरमा विकास गर्न लागिएको बताउँदै जिल्लामा पाइने भाँगो, गुन्द्रक र रातो च्याउलाई नेपालभर चिनाउन आवश्यक रहेको उनले बताए ।

महोत्सवमा एक सय २० भन्दा बढी स्टल छन् । महोत्सव अवधिभर १० करोडको कारोबार गर्ने लक्ष्य आयोजकको रहेको छ भने करिब सात लाख दर्शक भित्रिने अपेक्षा गरिएको छ ।

ताजा

Related Articles