24.1 C
Kathmandu
Friday, April 17, 2026

काँग्रेस पर्वतले माघ ८ गते दोस्रो जिल्ला सम्मेलन गर्ने, सभापति देउवाद्वारा कार्यक्रमको उद्घाटन हुने

पर्वत-नेपाली काँग्रेस पर्वतले यहीँ माघ ८ गते दोस्रो जिल्ला सम्मेलन गर्ने भएको छ । काँग्रेसका केन्द्रिय सभापति शेरबहादुर देउवाको प्रमुख आतिथ्यतामा जिल्ला सम्मेलन गर्न लागिएको काँग्रेस पर्वतले आज पत्रकार सम्मेलन मार्फत जानकारी गराएको हो । पत्रकार सम्मेलनमा पार्टीले गर्ने दोस्रो जिल्ला सम्मेलनको बारेमा जानकारी सार्वजनिक गरिएको छ । काँग्रेस सभापति देउवाले उद्घाटन गर्ने उक्त जिल्ला सम्मेलनमा देउवासहित केन्द्रिय सदस्य एवं पूर्व महामन्त्री डा. शंशाक कोईराला, केन्द्रीय सदस्य एवं प्रतिनिधीसभाका सदस्य डा. चन्द्र भण्डारी, केन्द्रीय सदस्य अर्जुनप्रसाद जोशी, प्रदेश मुख्यमन्त्री सुरेन्द्रराज पाण्डे सहित केन्द्रिय नेता प्रदेशका नेताहरुको कार्यक्रममा सहभागिता रहने जिल्ला उपसभापति डा. चुडामणी शर्माले जानकारी दिनुभयो । सम्मेलनको सबै तयारीहरु शुरु भएको बताउँदै उपसभापति शर्माले यसका लागि १५ वटा विभिन्न समिति बनाएर काम गरिरहेको अवगत गराउनुभयो । सम्मेलन कुश्मा बजार स्थित लोकतान्त्रिक चोकमा आमसभाको रुपमा सञ्चालन गरि उद्घाटन गरिने भएको छ । उहाँका अनुसार सम्मेलनमा जिल्ला कार्यसमिति, नगर तथा गाउँ, प्रदेश तथा वडा स्तरका कार्यसमितिका पदाधिकारी, सदस्य, जनप्रतिनिधी, पार्टीका विभिन्न भातृ तथा शुभेच्छुक सहभागी हुने उपसभापति शर्माले जानकारी दिनुभयो । अर्का उपसभापति शिवप्रसाद सुबेदीले विभिन्न पार्टीमा देखिएको विकृति, यूवाहरुको निराशा, जनतामा रहेको विकासको आकंक्षा र काँग्रेस पार्टीमा देखिएका कमजोरी केलाउने अवसरको रुपमा जिल्ला सम्मेलन लाई उपयोग गरिने बताउनुभयो । उहाँले यो सम्मेलनले नेपाली काँग्रेस पर्वतलाई एकढिक्का बनाउने र बैचारिक रुपमा काँग्रेसको संगठन मजवुत बन्ने सुबेदीले विश्वास व्यक्त गर्नुभयो । पार्टी सचिव गुप्तनिधी शर्माले मुलभूत रुपमा जिल्ला सम्मेलनका पाँच वटा उद्धेश्य रहेको चर्चा गर्नुभयो । उहाँका अनुसार जिल्ला सम्मेलनको उद्घाटन पश्चात हुने बन्दसत्रमा जिल्ला सभापति यूवराज जोशीले राजनैतिक प्रतिबेदन, सचिव गुप्तनिधी शर्मा र अशोक उचै ठकुरीले सांगठनिक तथा प्रगति प्रतिबेदन र कोषाध्यक्ष हेम शर्मा पौडेलले आर्थिक प्रतिबेदन पेश गर्नुहुने भएको छ । यसका अलवा उक्त अवसरमा वार्षिक समिक्षा र वार्षिक कार्ययोजना उपर व्यापक छलफल गरि पार्टीको अवस्था लाई थप चलायमान बनाउने गरि सम्मेलनले योजना तय गर्ने सचिव शर्माले बताउनुभयो । नेपाली काँग्रेसका जिल्ला सचिव अशोक उचै ठकुरीले कार्यक्रमको सञ्चालन सहित पत्रकारहरु बाट आएका जिज्ञाशाको जवाफ दिनुभएको थियो । उहाँले सम्मेलनको खुल्ला सत्रमा नेपाली काँग्रेसका नेता कार्यकर्ता मात्रै नभएर अन्य पार्टीका प्रमुख एवं प्रतिनिधी, विभिन्न संस्थाका प्रतिनिधीहरु र प्रजातन्त्रमा विश्वास गर्ने सुभेच्छुकहरुलाई सहभागि हुन पत्रचार गरिएको ठकुरीले बताउनुभयो । पत्रकार सम्मेलनमा नेपाल पत्रकार महासंघका अध्यक्ष सन्तोष थापा, सचिव राजबाबु पिसी, नेपाल प्रेस यूनियनका जिल्ला उपाध्यक्ष रोशन तिवारी लगायतले जिल्ला सम्मेलनको तयारीका विषयमा सुझाव र प्रश्न राख्नुभएको थियो ।सम्मेलनलाई भव्यताका साथ सम्पन्न गर्नका लागि तिव्र तयारी भैरहेको पत्रकार सम्मेलनमा जानकारी गराइएको छ ।

ताजा

Related Articles