लक्ष्मण बिसि,पर्वत-पर्वत अस्पतालमा खानेपानीको सहज व्यवस्थापनका लागि अस्पताल व्यवस्थापन समिति र खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाबिच बिहिवार अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रबि कुमार श्रेष्ठ सहित पुर्ब अध्यक्षहरुसँग अस्पतालको खानेपानी समस्या समाधान गर्ने बिषयमा महत्त्वपूर्ण छलफल भएको पर्वत अस्पताल व्यवस्थापन समितिका अध्यक्ष शंकर गिरीले जानकारी दिनुभयो । विगतमा खानेपानीको समस्या झेलिरहेको अस्पतालमा दीर्घकालीन रुपमा खानेपानी समस्या हल गर्नेगरी नयाँ स्रोतको व्यवस्थापनका लागि पहल गरिएको उहाँले बताउनुभयो । गिरीले भन्नुभयो ” बिगतदेखि नै अस्पतालले खानेपानीको अभाव झेल्दै आएको छ, अबभने खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थासँग सहकार्य गरेर खानेपानीको सहज र दिगो व्यवस्थापन गर्दैछौँ ।”अब छिट्टै नै अस्पतालले खानेपानी समस्याबाट छुटकारा पाउने र आम बिरामीहरुले सेवा पाउने गिरीले विश्वास व्यक्त गर्नुभयो । विगतमा ट्याङकरमा पानी बोकेर ल्याएर खानेपानीको अभाव टार्नुपरेको बताउदै अब त्यस्तो समस्या आउन नदिन स्रोतको पहिचान गरि खानेपानीको सही व्यवस्थापन गरिने गिरिको भनाइ छ । अस्पताल जस्तो संवेदनशील क्षेत्रलाई खानेपानीको अभाव हुन नदिन व्यवस्थापन समितिले चासो दिएर सक्रियतापुर्वक काम गरेको उहाँले बताउनुभयो ।
बर्खायाममा केहिहदसम्म पानीको सहजता भएपनि हिउँदमा खानेपानीको अभाव झेल्नुपरेको बताउदै अब शिवालय खानेपानी तथा उपभोक्ता संस्थासँग सहकार्य गरि बाह्रैमास खानेपानी आपूर्तिमा सहजता दिनेगरी काम गरिने अध्यक्ष गिरीले बताउनुभयो । बिगतमा सहि व्यवस्थापन नगरि खोलाको किनारमा खानेपानीको ट्याङ्की बनाउदा त्यो योजना असफल भएको तर अब बन्ने खानेपानीका योजना सही, व्यवस्थित र प्रभावकारी बनाउनेतर्फ जोड दिएको उहाँले बताउनुभयो । अस्पतालमा मृगौला रोगीका लागि डायलाइसिस सेवा सुरु भएसँगै १० वटा बेडमा बिरामीको नियमित उपचार भैरहेको छ । डायलाइसिस गर्दा पानीको धेरै आवश्यकता पर्ने हुँदा पानीको अभाव हुन नदिनेतर्फ ध्यान दिएको अध्यक्ष गिरीको भनाइ छ । पर्वत अस्पतालमा खानेपानी अभावका कारण डायलाइसिस सहितको सेवामा असर पर्न नदिने शिवालय खानेपानी उपभोक्ता तथा सरसफाइ संस्थाका अध्यक्ष रवि कुमार श्रेष्ठले प्रतिबद्धता व्यक्त गर्नुभयो । सिधै ट्याङ्कीबाट अथवा लिफ्ट मार्फत भएपनि अस्पताललाई सहज र व्यवस्थित तरिकाले खानेपानी उपलब्ध गराइने श्रेष्ठले बताउनुभयो । अन्तरक्रिया कार्यक्रममा शिवालय खानेपानी संस्थान कुश्माका पुर्व अध्यक्षहरु बाबुराम जोशी,तोयानाथ चालिसे, कमलनाथ पोख्रेल, तारानाथ शर्मा, अस्पताल तथा संस्थानका अन्य पदाधिकारी, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डाक्टर हेमन्त बास्तोला लगायतको उपस्थिति रहेको थियोे ।

