12.1 C
Kathmandu
Saturday, February 7, 2026

मोती सामुदायिक पुस्तकालयमा “दैनिक १ रुपैयाँ दान अभियान”: पुस्तकालयको विकासका लागि अक्षयकोष स्थापना गरिने

लक्ष्मण बिसि,पर्वत--पुस्तकालय ज्ञानको भण्डार हो । पुस्तक पढ्ने व्यक्तिले नयाँनयाँ ज्ञान र सीप आर्जन गर्न सक्छन् र अब्बल र सक्षम हुन्छन् । अध्ययनले नै मान्छेलाई प्रगति र सफलताको बाटोमा डोर्याउछ । हो,त्यहीँ ज्ञानको भण्डार र शिक्षाको ज्योति फैलाउने पुस्तकालयको विकास र प्रवर्द्धन गर्नका लागि यहाँको एउटा सामुदायिक पुस्तकालयमा “दैनिक १ रुपैयाँ दान अभियान” संचालन गरिएको छ । पर्वतको फलेवास नगरपालिका वडा नं.५ खानीगाउँ स्थित जिल्लाकै पुरानो मोती सामुदायिक पुस्तकालयमा दैनिक १ रुपैयाँ दान अभियान संचालन भएको हो ।अभियान सुरुवात भएको छोटो समयमा नै उत्साहका साथ धेरै व्यक्तिहरुले दान गरेका छन् । थोपा थोपा मिलेर सागर बन्छ भनेझैं दैनिक १ रुपैयाँ सहयोग अभियानले लाखौंको अक्षयकोष स्थापना हुने भएको छ ।हालसम्म विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तिहरुले पुस्तकालयको महत्त्व र अभियानलाई आत्मसात गर्दै १ लाखको हाराहारीमा रकम दान गरिसक्नुभएको लाइब्रेरीयन इन्द्र प्रसाद सापकोटाले जानकारी दिनुभयो । हालसम्म १ सय २५ जनाले दान गरिसक्नुभएको र एउटा व्यक्तिले दैनिक १ रुपैयाँका दरले १ बर्षको ३ सय ६५ देखी इच्छा अनुसार थप सहयोग गर्नुभएको उहाँले बताउनुभयो । पुस्तकालयका संस्थापक अध्यक्ष, शैक्षिक तथा सामाजिक अभियन्ता भोलानाथ शर्माले पुस्तकालय निस्वार्थ शैक्षिक उन्नयन र सामाजिक कार्यमा अग्रसर भएको बताउदै दैनिक १ रुपैयाँ दानबाट संकलित रकम व्यवस्थित तरिकाले संस्थागत विकासका लागि खर्च गरिने बताउनुभएको छ । पुस्तक अध्ययनले ज्ञान र चेतनाको स्तर वृद्धि गरेर सफल व्यक्ति बन्न प्रेरित गर्ने बताउदै जुनसुकै उमेरका व्यक्तिहरु पुस्तकालय आएर पुस्तक अध्ययन गर्नुपर्ने उहाँले बताउनुभयो । पुस्तक पढ्ने बानीले व्यक्तिलाई सकारात्मक चिन्तन,बौद्धिक, लगनशील र उर्जाशिल बनाउने बताउदै पठन संस्कृतिको विकासमा संस्थापक शर्माले जोड दिनुभयो । पुस्तकालयको संरक्षण र प्रवर्द्धनमा सबै जुट्नुपर्ने उहाँको भनाइ छ । दानबाट संकलित रकमबाट अक्षयकोष स्थापना गरिने पुस्तकालय संचालन समितिका अध्यक्ष कृष्णराज पौडेलले बताउनुभयो । हालसम्म विभिन्न व्यक्तिहरुबाट ७० हजार बढी दान प्राप्त भएको बताउदै १ रुपैयाँ दान गर्नेहरूलाई धन्यवाद ज्ञापन गर्नुभयो । पुस्तकालयको चौतर्फी विकासका लागि उक्त रकम खर्च गरिने बताउदै थप सहयोगका लागि पौडेलले सबैलाई आग्रह गर्नुभएको छ ।

यसरी सुरु भएको थियो दैनिक १ रुपैया दान अभियान ।

२०८० असोज ७ गते मोती सामुदायिक पुस्तकालयको १२ औं साधारणसभा तथा अधिवेशन कार्यक्रम पुस्तकालयको सभाहलमा संचालन भैरहेको थियो । सोही कार्यक्रममा अतिथिको रूपमा उद्यमशिलता विकास प्रशिक्षक तथा शैक्षिक अभियन्ता शान्ता दाहाल हुनुहुन्थ्यो । शैक्षिक अभियान्त तथा पुस्तकालयका संस्थापक भोलानाथ शर्माले उहाँलाई फलेवासका महिलाहरुलाई उद्यमशिलता सीप सिकाउनको लागि काठमाडौबाट फलेवास ल्याएर आउनुभएको थियो । सोही बेला सान्ता दाहललाई पुस्तकालयको साधारणसभा तथा अधिवेशन कार्यक्रममा सहभागी हुने अवसर मिल्यो । उहाँलाई उक्त कार्यक्रममा बोल्ने समय पनि उपलब्ध गराइयो । बोल्ने क्रममा पुस्तकालयको आवश्यकता र महत्त्वको बारेमा महत्त्वपूर्ण कुरा प्रस्तुत गर्नुभयो । आफ्नो मन्तव्यको अन्त्यतर्फ कार्यक्रमका सहभागीहरुसँग उहाँले भन्नुभयो “म एउटा कुरा माग्छु दिनुहुन्छ? मेरो अनुरोध मान्नुहुन्छ?” सहभागी प्रायः सबैले हुन्छ मान्छौ भन्ने जवाफ आयो । त्यहीँ मौकामा उहाँले एउटा जुक्ति लगाएर भन्नुभयो ” त्यसोभए पुस्तकालयको उन्नयन र विकासका लागि आजबाट दैनिक १ रुपैयाँ दान गरिदिनुहोस् ।” यो जुक्ति कार्यक्रमका सहभागीलाई मन पर्यो र त्यहीँ दिन केही सामाजिक तथा शैक्षिक व्यक्तिहरुले दैनिक १ रुपैयाँ दान गर्नुभयो भने केहि व्यक्तिले दान दिने प्रतिबद्धता व्यक्त गर्नुभएको थियोे । हालसम्म १२५ जना १ रुपैयाँ दान अभियानमा सहभागी भएका छन् । पर्वतसँगै बाग्लुङ, काठमाडौ, तनहुँ, स्याङ्जा पाल्पा लगाय विदेशबाट समेत विभिन्न शैक्षिक तथा सामाजिक व्यक्तित्वहरुले पुस्तकालयलाई १ रुपैयाँ दान गर्नुभएको छ । वि.सं २०१६ सालमा स्थापित जिल्लाकै पुरानो उक्त पुस्तकालयले विभिन्न शैक्षिक तथा सामाजिक गतिविधिहरु संचालन गर्दै आइरहेको छ । पुस्तकालयमा सबै बिधाका पुस्तकहरू उपलब्ध छन् ।

१ रुपैयाँ दान गर्न इच्छुकले पुस्तकालयको क्युआर कोड प्रयोग गर्न सक्नुहुन्छ ।

मोती सामुदायिक पुस्तकालय फोन नं. 067-430010

मोती सामुदायिक पुस्तकालयको क्युआर कोड

ताजा

Related Articles