21.1 C
Kathmandu
Friday, April 17, 2026

ठानामौलामा नवनिर्मित वडा कार्यालय भवन राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाद्वारा उद्घाटन

लक्ष्मण बिसि,पर्वत-पर्वतको फलेवास नगरपालिका वडा नं. ८ ठानामौलाको नवनिर्मित वडा कार्यालय भवन उद्घाटन गरिएको छ । शुक्रबार एक कार्यक्रमका बिच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले उक्त भवन उद्घाटन गर्नुभएको हो । उद्घाटन कार्यक्रममा बोल्दै राष्ट्रिय सभा अध्यक्ष तिमिल्सिनाले नवनिर्मित वडा कार्यालयको भवनबाट नागरिकको सेवा प्रवाहलाई प्रभावकारी बनाउनुपर्ने बताउनुभएको छ । जनप्रतिनिधि जनताको सेवा र सुशासनमा तल्लीन हुनुपर्ने बताउदै योजनाबद्ध तरिकाले दिगो विकासका काम गर्नुपर्ने उहाँले बताउनुभयो । देशको विकास र समृद्धिका लागी सबै राजनीतिक दलहरूले सकारात्मक भुमिका निर्वाह गर्नुपर्नेमा तिमिल्सिनाले जोड दिनुभयो । करिब ७३ लाख लागतमा वडा कार्यालय भवन निर्माण सम्पन्न भएको वडा अध्यक्ष मन बहादुर कुवँरले बताउनुभयो । सुविधा सम्पन्न वडा कार्यालय निर्माण भएपछि सहज र व्यवस्थित तवरले वडाबाट सेवा प्रवाह हुने उहाँले बताउनुभयो । वडाको विकासका लागि शिक्षा, स्वास्थ्य, सडक, कृषि लगायतका क्षेत्रमा उल्लेखनीय काम भएको बताउदै निरन्तर वडाको विकासमा काम गर्ने वडा अध्यक्ष कुँवरले प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष राजु प्रसाद पौडेल, फलेवास नगरपालिकाका पुर्व नगरप्रमुख पदमपाणी शर्मा, मोदी गाउँपालिकाका अध्यक्ष हिरादेवी शर्मा, कुश्मा नगरपालिकाका उपप्रमुख स्वस्थानी रिजाल लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे । उक्त कार्यक्रमका अवसरमा वडाको विकास र समृद्धिका लागि योगदान पुर्‍याएका विभिन्न व्यक्तिहरुलाई सम्मान गरिएको थियो । वडा अध्यक्ष मन बहादुर कुँवरको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन वडा सचिव जिवलाल तिमिल्सिनाले गर्नुभएको थियोे ।

ताजा

Related Articles