पर्वत -पर्वतको महाशिला गाउँपालिकामा धनदेवी निशुल्क आँखा शिविर सम्पन्न भएको छ । महाशिला गाउँपालिका वडा नं ५ लामे निवासी धन बहादुर गुरुङ र देवि गुरुङको ८४ पुजाको अवसरमा उहाँका छोरा बुहारीहरुले निशुल्क आँखा शिविर संचालन गरेका हुन ।
हिमालयन आँखा हस्पिटल पोखराको प्राविधिक सहयोग, महाशिला गाउँपालिका वडा न ५ को व्यवस्थापन र मिलन डि.जि इन्टरनेशनल प्रा.लिको संयोजनमा महाशिला आधारभुत अस्पतालमा फागुन ९ गते संचालित शिविरमा ४ सय २ जनाले आँखाको परिक्षण गराएका छन् । परिक्षण पश्चात् १२ जनाको भने पोखरा लगि निशुल्क अप्रेसन गरिएको कान्छा छोरा विजय गुरुङले जानकारी दिनुभयो । उहाँले ११ जनाको मोतिया विन्दुको र १ जनाको अन्य गरि १२ जनाको सफल अप्रेसन गरिएको बताउनुभयो । गुरुङले १ जना विरामी कुरुवा सहित विरामीलाई ल्याउने लैजाने र खाना बस्नको निशुल्क व्यवस्था गरिएको जानकारी दिनुभयो ।

धनदेवीका जेठा छोरा प्रकाश गुरुङ बुहारी माला गुरुङ,माइला छोरा विकास गुरुङ बुहारी सावित्री गुरुङ र कान्छा छोरा बिजय गुरुङ बुहारी सम्झना गुरुङले शिविरको आयोजना गरेका हुन् । महाशिला गाउँपालिका लगायत आसपासमा रहेका आँखाका विरामीहरु उपचारका लागी अन्यत्र जान नपरोस भन्ने उदेश्यले निशुल्क शिविर संचालन गरिएको उनिहरुले बताएका छन् । गुरुङ परिवारले समाजसंग जोडीएर सामजिक कार्यहरु गर्दा मनमा शान्ती मिल्ने बताए ।गाउँमा नै निशुल्क आँखाको चेकजाँच गर्न पाउदा स्थानिय खुशी हुदै गुरुङ परिवारलाई धन्यवाद दिएका छ्न ।


