पर्वत-पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ स्थित महेन्द्रोदय माध्यमिक बिद्यालयमा ५ लाखको अक्षयकोष स्थापना गरिएको छ । पर्वतको पर्वतको महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङ जन्मघर भई हाल हङकङमा बस्दै आउनुभएका समाजसेवी तथा अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक अपुन एच.के. (भोटे) ले आफ्ना स्वर्गीय आमा बिष्णु आर्य लोहनी र बुबा हर्कबहादुर आर्य लोहनीको स्मृतिमा ५ लाखको अक्षयकोष स्थापना गर्नुभएको हो । बिद्यालयमा अध्ययनरत गरिब, असहाय र जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले उक्त अक्षयकोष स्थापना गरिएको उहाँले जानकारी दिनुभयो । महाशिला गाउँपालिका वडा नं. २ भोक्सिङमा निर्माण गरिएको धनिराम आर्य लोहनी कुल मन्दिर उद्घाटनका अवसरमा अक्षयकोषको घोषणा गरि बिद्यालयका प्रधानाध्यापक गोविन्द गुरुङलाई चेक हस्तान्तरण गर्नुभएको छ । बिद्यालयका प्रधानाध्यापक गोविन्द गुरुङले अक्षयकोषदातालाई धन्यवाद ज्ञापन गर्दै उक्त अक्षयकोषबाट प्राप्त ब्याज अक्षयकोषको उदेश्य अनुसार विद्यार्थीहरुलाई वितरण गरिने बताउनुभयो । अपुन एच.के. फाउन्डेसन नेपालका संस्थापक समाजसेवी अपुन एच.के. (भोटे) ले शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा सहयोग गर्दै आउनुभएको छ । कोरोना महामारीका बेला उहाँले १ करोड ५३ लाख सहयोग गर्नुभएको थियोे ।

