पर्वत- पर्वतको फलेवास नगरपालिकाको आयोजनामा मंगलबार सार्वजनिक सुनुवाई तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । फलेवास नगरपालिका ५ नम्बर वडा कार्यालयको सभाहलमा भएको सार्वजनिक सुनुवाईमा नगरपालिकाले गत आर्थिक वर्षमा गरेका कार्य र आगामी आर्थिक वर्षमा गर्नुपर्ने कामको समिक्षा सहित नागरिकको सुझाव संकलन गरेको हो । कार्यक्रममा जनप्रतिनिधी र कर्मचारीले नागरिकका गुनासोको सुनुवाई गर्नुभएको थियो ।
विशेष गरि योजनाको पारदर्शिता, सहभागीतामुलक विकास, शिक्षा, स्वास्थ्य, कृषि , खानेपानी तथा जनजिविकाका विषयमा नागरिक स्तरबाट प्रश्न तथा सुझाव प्राप्त भएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख गंगाधर तिवारीले फलेवास नगरपालिका खुल्ला आकाशमुनी स्थापना भई हाल विकासको क्रममा धेरै अगाडी बढेको भन्दै आगामी दिनमा पनि समूदायकै आवश्यकता र मागका आधारमा विकासका काम गरेर अगाडी बढ्ने बताउनुभयो ।
उहाँले सबैको सल्लाह, सुझाव र खबरदारीबाटै समृद्ध फलेवास बन्ने भएकाले प्राप्त सबै सुझाव लाई मनन गर्दै अगाडी बढुने बताउनुभयो । तिवारीले नगरपालिकाले प्रचारात्मक भन्दा आवश्यकता अनुसारका विकासका काम गर्दै आएको पनि दाबी गर्नुभयो । थोरै बजेटमा धेरै खाले मागको सम्बोधन गर्नुपर्ने कारणले कतिपय गुनासो पनि सुनिने गरेको भन्दै तिवारी गुनासो रहित नगर बनाउने काममा पनि लाग्ने बताउनुभयो ।
उपप्रमुख शोभकुमारी क्षेत्रीले संघ र प्रदेशका विकास आयोजनाको बारेमा नगरपालिका लाई जानकारी नदिइने कारण कतिपय ठाउँमा अनाहकमा नगरपालिका विवादित बन्दै आएको गुनासो गर्नुभयो । विकास निर्माणका काम गर्दा सबै तहका सरकारका कामहरु जनप्रतिनिधीहरुले जानकारी पाउने वातावरण बन्नुपर्ने बताउनुभयो । नगरको विकासमा जनप्रतिनिधीहरुले रातदिन नभनी काम गर्दै आएको क्षेत्रीले उल्लेख गर्नुभयो । कार्यक्रम फलेवास ५ खानीगाउँका वडाध्यक्ष नारायण लामिछानेको अध्यक्षतामा सम्पन्न भएको थियो ।
कार्यक्रममा शिक्षा अधिकृत कृष्णप्रसाद आचार्य, पूर्वाधार तथा योजना शाखा प्रमुख प्रकाश लम्साल, कृषि शाखा प्रमुख केदार सापकोटाले जनगुनासोको सम्बोधन गर्नुभयो । कार्यक्रममा सहभागी भएका मध्ये एक दर्जन स्थानीयले गुनासो, प्रश्न र सुझाव दिनुभएको थियो ।
फलेवासमा सार्वजनिक सुनुवाइ तथा अन्तरक्रिया सम्पन्न

