11.1 C
Kathmandu
Monday, February 9, 2026

पर्वतको दुर्लुङमा आगलागी हुँदा घर र गोठ जलेर नष्ट

पर्वत- पर्वतको कुश्मा नगरपालिका–३ दुर्लुङमा आगलागी हुँदा एउटा घर र दुई वटा गोठ जलेर नष्ट भएको छ । बुधबार बिहान गोठमा कुडो पकाउने क्रममा आगलागी भइ घरगोठ जलेर नष्ट भएको हो ।

दुर्लुङको थुमामा स्थानीय पूर्णप्रसाद शर्मा र मनमाया बि.क. को गोठ र घरमा आगलागी भएपछि भौतिक क्षति भएको जिल्ला प्रहरी कार्यालय पर्वतका प्रमुख प्रहरी नायव उपरीक्षक खुमलाल भुसालले जानकारी दिनुभयो । बिहान करिब छ बजेको समयमा गोठमा चौपायालाई पानी तताइरहेको बेलामा सोही आगोबाट आगलागी सुरु भएको सूचना आएको बताउँदै आगलागीबाट भएको आर्थिक क्षतिको बारेमा अध्ययन भइरहेको उहाँले बताउनुभयो ।

आगलागीको सूचना पाएपछि नेपाल प्रहरी, नेपाली सेना र सशस्त्र प्रहरीबाट खटिएका सुरक्षाकर्मीहरू सहित स्थानीय बासीको पहलमा आगो नियन्त्रणमा आएको थियो। आगलागीमा परी दुई वटा गोठ, एउटा घरमा पूर्ण क्षति भएको र अर्को एक घरमा आंशिक क्षति भएको डिएसपी भुसालको भनाइ छ । दुवै घर र गोठ कच्ची हुन्।

पीडितहरूले कुखुराका माउ र चल्ला करिब ७० वटा, झन्डै एक लाख मूल्यको मिल, एक लाख मूल्य बराबरको खाद्यान्न, दुई लाख बराबर पसलका सामान, ४५ हजार नगद लगायत गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको बताएका छन्। घट्नामा भएको क्षतिको विवरण सङ्कलनको काम चलिरहेकोले कतिको क्षति भएको हो भन्ने यकिन नभएको पर्वत प्रहरीले जनाएको छ ।

ताजा

Related Articles