पर्वतमा क्षयरोग सम्बन्धि पत्रकार अन्तरक्रिया कार्यक्रम सम्पन्न ।

161

पर्वत-“हामी क्षयरोग अन्त्य गर्छौ” भन्ने मूल नाराका साथ पर्वतमा क्षयरोग सम्बन्धि पत्रकार अन्तरक्रिया तथा अन्तर संवाद गरिएको हो।
विश्व क्षयरोग दिवसको अवसरमा स्वास्थ्य कार्यालय पर्वतको आयोजनमा उक्त कार्यक्रम आज कुश्मामा सम्पन्न भएको हो । हरेक वर्ष मार्च २४ तारिकका दिन विश्व क्षयरोग दिवस मनाइँदै आइएको छ। यस वर्ष होली पर्वका कारण उक्त दिवसका दिन बिदा परेको हुँदा आज विश्व क्षयरोग दिवसको पुर्वसन्ध्यामा अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरिएको हो ।
अन्तरक्रिया कार्यक्रममा स्वास्थ्य कार्यालय पर्वतका क्षयरोग कार्यक्रम संयोजक ल्याब टेक्निसियन निरीक्षक उज्ज्वल तिवारीले क्षयरोगको बारेमा जानकारी गराउँदै नेपालमा क्षयरोगको वर्तमान अवस्थाको बारेमा सहजीकरण गर्नुभएको थियो ।
क्षयरोग लागेको बिरामीले खोक्दा हाच्छ्युँ गर्दा खकारबाट क्षयरोगका कीटाणुहरू हावामा निस्कने र श्वासप्रश्वासको माध्यमबाट फोक्सोमा गएर असर गर्ने भएकाले लक्षण देखिएका व्यक्तिहरूलाई स्वास्थ्य संस्थामा लगेर नियमित उपचारको व्यवस्था गराउनु पर्ने उहाँले बताउनुभयो ।

क्षयरोग माइकोव्याक्टेरियम ट्युवरक्युलोसिस नामक आँखाले देख्न नसकिने कीटाणुबाट लाग्ने सरुवा रोग भएकोले समुदायमा सहजै फैलन सक्ने सम्भावना बढी रहेका कारण सबै सजक रहन र भिडमा जाँदा सजगता अपनाउन उहाँले जोड दिनुभयो ।
क्षयरोगका बिरामीले नियमित रुपमा ६ महिना सम्म औषधी सेवन गन्नुपर्ने र नियमित उपचार गरेमा क्षयरोग पूर्णरुपमा निको हुने बताइएको छ । क्षयरोगका बिरामीहरूलाई नेपाल सरकार वाट निःशुल्क औषधी वितरण भइरहेको छ ।पर्वतमा यस बर्ष ४३ जना क्षयरोगका बिरामी भेटिएकोमा नियमित औषधी लिइरहेको स्वास्थ्य कार्यालयको तथ्याङ्क रहेको छ। नेपालमा बर्सेनि ६९ हजार नयाँ क्षयरोगका बिरामी भेटिने गरेका छन् भने हरेक वर्ष १७ हजार व्यक्तिको क्षयरोगका कारण निधन हुने गरेको राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको तथ्याङ्क रहेको छ ।
कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापाले समुदायमा क्षयरोग सम्बन्धी सचेतना थप प्रभावकारी गराउनु पर्नेमा जोड दिँदै रोगीहरूलाई स्वास्थ्य संस्थामा ल्याउनका लागि सबै सरोकारवाला निकायले भूमिका खेल्नु पर्ने बताउनुभयो । क्षयरोगको निवारणका लागि संचार माध्यमको महत्त्वपूर्ण भुमिका रहेको बताउदै जिल्ला स्थित संचारकर्मीहरुले क्षयरोगका बारेमा समाचार प्रकाशन प्रसारण जोड दिने बताउनुभयो ।
स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख तेज प्रसाद सुवेदीले
स्वास्थ्यका गतिविधि प्रसारमा पर्वतका मिडिया र पत्रकारले महत्त्वपूर्ण भुमिका निर्वाह गर्नुभएको बताउदै क्षयरोगको निवारणमा पनि जनचेतनामूलक सूचना प्रवाह गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा कुश्मा नगरपालिकाका स्वास्थ्य संयोजक यम प्रसाद शर्मा, जिल्ला स्थित विभिन्न सञ्चार माध्यमका सञ्चार कर्मीहरू, क्षयरोग कार्यक्रम साझेदार निकायका प्रतिनिधि, पर्वत अस्पताल प्रयोगशाला प्रतिनिधिको गरी २३ जनाको उपस्थिति रहेको थियो।
कार्यक्रममा उपस्थित पत्रकारहरुले क्षयरोगका बारेमा जिज्ञासा तथा सुझाव राखेका थिए । स्वास्थ्य कार्यालय पर्वतका निमित्त प्रमुख तेज प्रसाद सुवेदीको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयका तथ्याकं सहायक रामचन्द्र सुवेदीले गर्नुभएको थियोे ।

 

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here