पर्वत-लायन्स क्लब अफ काठमाडौ सिद्वार्थ गौतम बुद्धले पर्वतको कुश्मा नगरपालिका-३ दिर्लुङका आगलागी पीडितलाई सहयोग हस्तान्तरण गरेको छ । आगलागीमा घर गोठ गुमाएका दुर्लुङ थुमाका पूर्णप्रसाद शर्मा र मनमाया बिकलाई आज घरमै पुगेर सहयोग हस्तान्तरण गरिएको हो ।
विपत्तिको बेलामा थोरै भएपनि राहत होस् भन्ने उद्देशले आगलागी पीडित पूर्णप्रसाद शर्मालाई २३ हजार र मनमाया बिकलाई ३ हजार गरी २५ हजार सहयोग हस्तान्तरण गरिएको लायन्स क्लब अफ काठमाडौ सिद्वार्थ गौतम बुद्धका अध्यक्ष नारायण सुवेदीले जानकारी दिनुभयो ।समस्या,आपत विपत्त अचानक जहाँ जुनसुकै बेला पनि आइपर्ने बताउदै विपत्तिको घडीमा लायन्स क्लब राहतका साथ मलम लगाउन अग्रसर भएको बताउनुभयो ।
विपत्तिको बेला पीडितलाई धैर्य गर्न आग्रह गर्दै थप सहयोगका लागि पहल गर्ने सुवेदीले प्रतिबद्धता व्यक्त गर्नुभयो । लायन्स क्लब अफ काठमाडौ सिद्वार्थ गौतम बुद्ध बर्ष २०२३-२४ को अध्यक्षमा रहदा ६ वटा क्लब स्थापना गरि सामाजिक कार्यमा अग्रसर रहनुभएका सुवेदीले लायन्स अन्तराष्ट्रिय डिष्ट्रीक्ट ३२५ आई,नेपाल लगायतमा रहेर काम गरिरहनुभएको छ ।
त्यस्तै लायन्स क्लबका रिजन चियर पर्सन अर्जुन पौडेल निर्जनले आगलागीको घटनाप्रति दुख व्यक्त गर्दै घर पुनर्निर्माणका लागि सबैले सहयोग गर्नुपर्ने बताउनुभयो । जहाँ दुख र समस्या आइपर्छ त्यहाँ लायन्स क्लब पुग्ने गरेको बताउदै लायन्स क्लब निरन्तर सामाजिक कार्यमा सक्रिय रहेको उहाँले बताउनुभयो ।
क्लबका जोन चियर पर्सन ज्ञानेन्द्र जोशीले विपत्तिको बेला लायन्स क्लब घटना स्थल पुगेर निस्वार्थ सहयोग गर्दै आइरहेको बताउनुभयो । पीडितको घर पुनर्निर्माणका लागि सबले आ- आफ्नो ठाउँबाट सहयोग गर्न उहाँले आग्रह गर्नुभयो ।
सहयोग हस्तान्तरण कार्यक्रममा समाजसेवी चुडामणी सुवेदी, भुगा पोख्रेल रिजाल, बालकृष्ण पौडेल, रामचन्द्र पौडेल राष्ट्रिय लोक दोहोरी गित प्रतिष्ठान पर्वतका अध्यक्ष पुजा पौडेल कार्की लगायतको उपस्थित रहेको थियो ।
गत बुधबार दुर्लुङमा आगलागी हुँदा एउटा घर र दुई वटा गोठ जलेर नष्ट भएको थियो ।
आगलागीमा परेर झन्डै एक लाख मूल्यको मिल, एक लाख मूल्य बराबरको खाद्यान्न, दुई लाख बराबर पसलका सामान, ४५ हजार नगद लगायत गरी करिब ३० लाख रुपैयाँ बराबरको क्षति भएको आगलागी पीडित पूर्णप्रसाद शर्माले बताउनुभयो । त्यस्तै
आगलागीले गोठ जलेर नष्ट हुँदा करिब ७० वटा कुखुरा मरेको र लाखौं बराबरको क्षति भएको मनमाया बिकले बताउनुभएको छ । आगलागी पीडितहरुले सहयोगका लागि सबैसँग अपिल गर्नुभएको छ ।
लायन्स क्लब अफ काठमाडौ सिद्वार्थ गौतम बुद्धद्वारा दुर्लुङ आगलागी पीडितलाई सहयोग हस्तान्तरण ।

