पर्वत-पर्वतको कुश्मा नगरपालिका– २ खुर्कोटमा बाटो निर्माण गर्ने क्रममा रोकिराखेको डोजरमा हिजोराती आगजनी भएको छ ।
छमर्के-खुर्कोट-कोटगाउँ सडकमा काम गर्दै गरेको बा १ क ८३५९ नम्मरको डोजर आगलागीबाट ध्वस्त भएको हो । चैत १७ गते बिहान खुर्कोट बाट सदरमुकाम कुश्मा जादै गर्दा स्थानीय सेते नेपालीले आगो जलिरहेको देखे पछि सडक निर्माण समिति र जिल्ला प्रहरी कार्यालय पर्वतलाई खबर गर्नुभएको थियो ।
प्रहरी नायव उपरिक्षक खुमलाल भुसालले घटनास्थल गई प्रारम्भिक अनुसन्धान सुरू गरेको जानकारी दिनु भयो । कुनै व्यक्ति अथवा डोजरको इन्जिनबाट आगलागी भएको हो, भन्ने विषयमा अनुसन्धान गरिने उहाँले बताउनुभयो ।
समर्पण कन्ट्रक्सनको उक्त डोजरले कुश्मा नगरपालिका– २ समिकोटको जंगलमा सडकको चक्लाबन्दी गर्ने कार्य गरिरहेको थियो ।

