पर्वत-पर्वतको कुश्मा नगरपालिका वडा नं. १३,खौला लाकुरी निवासी शेर बहादुर क्षेत्रीको छोरा स्वर्गीय धन बहादुर क्षेत्रीको परिवारका नाममा ३ लाख २ हजारको अक्षयकोष स्थापना गरिएको छ । पर्वत जिल्ला फलेवास नगरपालिका वडा नं.२ थापाठाना घर भई हाल अमेरिका बसोबास गर्दै आउनुभएका स्व. रामदल भण्डारी र बेलायतमा बस्दै आउनुभएका स्वर्गीय तुलसी बहादुर क्षेत्रीको स्मृतिमा उहाँका छोराहरुले अक्षयकोष स्थापना गर्नुभएको हो ।
रोजगारीको सिलसिलामा पोर्चुगल गएका धनबहादुर क्षेत्रीको आफ्नै साथीको कुटपिटबाट २०८० मंसिर ७ गते पोर्चुगलमा मृत्यु भएको थियो । क्षेत्रीको छोराछोरीको लेखपढमा सहयोग होस् भन्ने उद्देश्यले अक्षयकोषको स्थापना गरिएको हो ।
धन कमाउन पोर्चुगल गएका परिवारको मुलि व्यक्तिको नै मृत्यु भएपछि धनबहादुरको परिवार बिचल्लीमा परेको थियोे । आपत विपत्ति र समस्याको बेला अक्षयकोष स्थापना गरि दयनीय अवस्थामा पुगेको परिवारलाई राहत प्रदान गर्नु अत्यन्त सकारात्मक र पुण्य कार्य भएको खौला लाकुरीका वडा अध्यक्ष तेजप्रसाद शर्माले बताउनुभयो । दुख र पिडामा रहेको धनबहादुरको परिवारको हितका लागि अक्षयकोष स्थापना गरि आर्थिक सहयोग गर्नुभएकोमा उहाँले अक्षयकोषदाता भण्डारी परिवारलाई धन्यवाद व्यक्त गर्नुभयो । दु:खद परिस्थितिसँग जुधिरहनुभएको परिवारलाई विभिन्न संघ संस्था र व्यक्तिहरुले भावनात्मक तथा आर्थिक सहयोग गर्नुभएको शर्माले बताउनुभयो ।
आइतबार क्षेत्रीको घरमा पुगेर अक्षयकोषको रकम हस्तान्तरण गरिएको छ । वडा अध्यक्ष तेज प्रसाद शर्मा, अक्षयकोष दाता स्वर्गीय रामदल भण्डारीकि नातानि मिना कुमारी भण्डारी र स्वर्गीय तुलसी क्षेत्रीका छोरा यज्ञ बहादुर क्षेत्रीले सयुक्तरुपमा उक्त रकमको चेक हस्तान्तरण गर्नुभएको हो ।
स्वर्गीय धनबहादुरको श्रीमती र अक्षयकोष दाताको संयुक्त हस्ताक्षर रहने गरि उक्त रकम मुक्तिनाथ विकास बैंक कार्कीनेटामा खाता खोलेर जम्मा गरिएको छ । आगामी दिनमा अक्षयकोष ५ लाख पुर्याउने लक्ष्य राखिएको छ ।
पोर्चुगलमा निधन भएका धनबहादुरको परिवारलाई ३ लाख २ हजारको अक्षयकोष स्थापना

