28.1 C
Kathmandu
Tuesday, July 16, 2024

बुबाआमाको चौरासी पुजामा लुंखु आहालेमा आकस्मिक कोष स्थापना

पर्वत- पर्वतको महाशिला गाउँपालिका वडा नं ५ आहालेमा बुबा आमाको चौरासी पुजाको अवसरमा छोराहरुले आकस्मिक कोष स्थापना गरेका छन् । महाशिला गाउँपालिका वडा नं ५ (साविक लुंखुदेउराली गाविस ८ ) घर भई हाल भरतपुर महानगरपालिका वडा नं ५ बस्दै आइरहेका टिकाराम पोखरेल र जुना देवी पोखरेलको ८४ पुजाको अवसरमा उहाँका छोराहरुले कोष स्थापना गरेका हुन ।
पोखरेल दम्पत्तिका छोरा चन्द्र पोखरेल, हमविर पोखरेल, राम पोखरेल र देव पोखरेलले १ लाख १ रुपैयाको आकस्मिक कोष स्थापना गरेका हुन् । आफु जन्मेहुर्केको गाउँमा आइपर्ने समस्या सहजै समाधान होस भन्ने उदेश्यले कोष स्थापना गरिएको चन्द्र पोखरेलले बताउँनुभयो । उहाँले बसोबास जताभए पनि आफु जन्मेको गाउँ विर्सन नसकिने बताउँदै यस कोषले गाउँलेहरुको दःुख र पिडाहरुमा मलम लगाउँन मद्दत पुग्ने बताउँनुभयो । पोखरेलले कोषलाई यत्तिमै सिमित नराखी बढाउँदै लैजान आग्रह गनुभयो ।
कोष स्थापना कार्यक्रममा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा विश्वकर्माले गाउँमा आकस्मिक कोष स्थापना गर्नु सराहनीय कार्य भएको बताउँनुभयो । उहाँले भन्नुभयो, “कोषको रकमबाट गाउँको समग्र विकास र शैक्षिक गुणस्तर सुधारका साथै विपन्न विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न सहयोग पुर्याउँनेछ । यो पुनित कार्यका लागि कोषका संस्थापकलाई धन्यवाद दिन चाहन्छु ।”
साथै कार्यक्रममा कोष परिचालन समिति समेत गठन गरिएको छ । जसको अध्यक्षमा गंगा बहादुर विश्वकर्मा, उपाध्यक्षमा गुप्त बहादुर विश्वकर्मा,सचिवमा छवि विश्वकर्मा र सदस्यमा स्यानि विश्वकर्मा, रिता सुनार र सन्तु सुनार रहेका छन् । भने पोखरेल परिवारको संरक्षणमा कोष परिचालन हुने छ । यस्तै कोष परिचालन सल्लाहकारमा महाशिला गाउँपालिकाका उपाध्यक्ष धनसुवा विश्वकर्मा, जंग बहादुर विश्वकर्मा र दिपेश वि पोखरेल रहेका छन् । यस कोषबाट गाउँमा आइपर्ने आपतविपतमा सहयोग गरिनुका साथै गाउँका विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरिने समितिका सचिव छवि विश्वकर्माले बताउँनुभयो । उहाँले कोषलाई थप विस्तार गरिदै लैजाने बताउँनुभएको छ ।
साथै सोही कार्यक्रममा पोखरेल परिवारले गाउँमा रहेको प्रगतिशिल आमा समुहलाई नगद १० हजार समेत सहयोग गरेका थिए । पोखरेल परिवार समाजिक कार्यमा सक्रिय छ ।

ताजा

Related Articles