29.1 C
Kathmandu
Saturday, July 27, 2024

पर्वत बहुमुखी क्याम्पसमा नयाँ जागरण, शैक्षिक उन्नयनमा जोड

लक्ष्मण बिसि,पर्वत– साविक धौलागिरी अञ्चल र पर्वत जिल्लाको इतिहासमा जिल्लाकै सबैभन्दा पहिलो क्याम्पसको रुपमा विं.सं. २०४१ सालमा स्थापित पर्वत बहुमुखी क्याम्पस यस क्षेत्रकै शैक्षिक धरोहर हो । फलेवास नगरपालिका वडा नं. ६ देविस्थानमा अवस्थित यस क्याम्पसले अत्यन्त गर्विलो इतिहास बोकेको छ ।विभिन्न चुनौती र समस्याका बाबजुद पनि क्याम्पस अनवरत शिक्षाको दिव्य ज्योति फैलाउन अग्रपंक्तिमा रहेको छ ।   क्याम्पस हजारौं अब्बल, सक्षम र योग्य जनशक्ति उत्पादन गर्न सफल भइसकेको छ ।  स्थापना कालदेखि हालसम्म पर्वत बहुमुखी क्याम्पसमा अध्ययन गरेका पुर्व विद्यार्थीहरु राज्यको उच्च ओहदामा पुगिसकेका छन् ।  यस क्याम्पसका उत्पादन कोहि स्वदेशमै उत्कृष्ट काम गरिरहेका छन् भने कोहि विदेश गएर राम्रो प्रगति गरिरहेका छन् । पछिल्लो समय क्याम्पसमा नयाँ जागरणका साथ पठनपाठन भैरहेको र क्याम्पसको उन्नयनका लागि विभिन्न रचनात्मक कामहरू अगाडि बढाइएको क्याम्पस प्रमुख लाल प्रसाद शर्माले जानकारी दिनुभयो । क्याम्पसको भौतिक संरचनामा सुधार, निशुल्क छात्राबासको व्यवस्था, सुबिधा सम्पन्न पुस्तकालयको व्यवस्था, आर्थिक संकलनमा जोड, जनशक्ति कटौती तथा व्यवस्थापन, प्रत्येक बर्ष ५ जना विद्यार्थीको सम्पुर्ण शुल्क तिरिदिने डोनरको व्यवस्था, फलेवास नगरपालिकाबाट सहयोग लगायतका रचनात्मक कार्य भएका छन ।  क्याम्पसमा आर्थिक संकटको समस्या समाधान हुँदै गएको र अब नयाँ आयामका साथ क्याम्पस अगाडि बढेको उहाँले बताउनुभयो । क्याम्पसमा विद्यार्थीको संख्या वृद्धिका लागि पर्वत तथा बाग्लुङका विभिन्न बिद्यालयमा पुगेर बिद्याहरुलाई क्याम्पस भर्ना भएर अध्ययन गर्न लागि प्रेरित गरिएको छ ।  क्याम्पस स्थापना कालदेखि हालसम्मका सम्पुर्ण विवरण समावेश गरि क्याम्पसको स्मारिका प्रकाशन गर्न लागिएको शर्माले बताउनुभयो । स्मारिकामा क्याम्पसका संस्थापक, संचालक,विद्यार्थी विवरण, चन्दादाता, सहयोगी र विभिन्न व्यक्तिहरुको लेख तथा रचना समावेश गरिएको छ । स्मारिकामा छापिएका शुभकामना, सूचना र बिज्ञापनबाट आर्थिक संकलनलाई जोड दिएको उहाँले बताउनुभयो । क्याम्पसमा दक्ष र अनुभवी प्राध्यापकहरुबाट नियमित पठनपाठन भैरहेको छ । भौतिक रुपमा सम्पनशाली रहेको क्याम्पसमा कक्षाकोठाको उचित व्यवस्था, हल,कम्प्युटर ल्याब र होस्टेलको राम्रो व्यवस्था रहेको छ । क्याम्पस हातामा १० रोपनी जग्गा रहेको छ भने, खानीगाँउमा ५५ रोपनी समथर जग्गा क्याम्पसको नाममा रहेको छ । शर्माले भन्नुभयो” क्याम्पसको उक्त मुल्यवान जग्गा व्यवस्थापन गरि अझ व्यवस्थित तरिकाले क्याम्पस संचालन गर्न सकिन्छ ।”  हालको क्याम्पस संचालक समिति,प्राध्यापकहरु, विद्यार्थी, अभिभावक, शिक्षाप्रेमी, बुद्धिजीवी र स्थानीय सरोकारवालाहरुको जागरुकता, साथ सहयोगले नै क्याम्पसको उन्नति र प्रगतिका लागि सुधारात्मक कामहरु भैरहेको क्याम्पस प्रमुख शर्माको भनाइ छ  ।
पर्वत बहुमुखी क्याम्पस सबैको अमुल्य सम्पदा रहेकाले यसको संरक्षणका लागि सबैले चासो दिनुपर्ने संचालक समिति अध्यक्ष हरि कुमार श्रेष्ठले बताउनुभयो । क्याम्पसको शैक्षिक सुधार, चौतर्फी विकास र समृद्धिका लागि सबैसँग सहकार्य गरेर अघि बढ्ने उहाँको भनाइ छ ।
पर्वत जिल्लाको गौरव र इतिहासको रुपमा रहेको यस पर्वत बहुमुखी क्याम्पस उच्च शिक्षा प्राप्तिका लागि हजारौं विद्यार्थीहरुका लागि उचित गन्तव्य बनिरहेको छ ।
गाउँघरमा रहेको क्याम्पसमा घरबाट नै आटोढिडो खाएर , घरपरिवारसँगै बसेर उच्च शिक्षा अध्ययन गर्न सकिन्छ । ग्रामिण भेगमा स्थापना भएको क्याम्पसमा आर्थिक अवस्था न्युन भएका हजारौं विद्यार्थीहरुले उच्च शिक्षा अध्ययन गर्ने अवसर पाएका छन् भने बाहिरी सहरमा गएर लाखौं खर्च गरेर पढ्नुपर्ने बाध्यता समेत हटेको छ ।

ताजा

Related Articles