11.1 C
Kathmandu
Monday, February 9, 2026

स्वास्थ्य कार्यालय पर्वतद्वारा वार्षिक प्रगति सार्वजनिक

पर्वत-स्वास्थ्य कार्यालय पर्वतले आर्थिक बर्ष २०८०-०८१ को बार्षिक प्रगति सार्वजनिक गरेको छ । मंगलबार कार्यालयमा पत्रकार सम्मेलन मार्फत एक बर्षको अबधिमा सम्पन्न कार्यहरुको प्रगति सार्वजनिक गरिएको हो । आर्थिक बर्ष २०८०-०८१ मा कार्यालयको भौतिक तर्फ ९६ प्रतिशत र आर्थिक तर्फ ८१ प्रतिशत प्रगति भएको कार्यालय प्रमुख प्रविण शर्माले जानकारी दिनुभयो ।
कार्यालय प्रमुख शर्माका अनुसार सङ्घ तथा प्रदेश सरकारले स्वास्थ्य कार्यालयलाई ५ वर्ष मुनिका बालबालिकाहरू, गर्भवती, बालबालिकाहरूको नियमित खोप लगायतका कार्यक्रमहरू योजना केन्द्रित गरेकाले आफूहरू पनि त्यसैमा केन्द्रित रहेको बताउनुभयो। जिल्लाको जनसङ्ख्या र उपलब्ध स्वास्थ्यकर्मीहरूको औसत हेर्दा प्रति स्वास्थ्यकर्मी ३ सय ८८ जना रहेको बताउँदै पर्वतको कुल जनसङ्ख्याको ३३ प्रतिशतले स्वास्थ्य बिमा गरेको शर्माले बताउनुभयो ।

पछिल्लो पटक पाँच हजार सात सय ६० जनालाई कोभिड बिरुद्धको बुस्टर खोप दिइएको, पाँच हजार तीन १३ जना बालबालिकाहरूलाई पोलियो विरुद्धको आईपिभि खोप दिइएको, छ हजार छ सय ५६ जना बालबालिकाहरूलाई दादुरा रुबेला बिरुद्धको खोप दिइएको तथा पाँच हजार दुई सय ९६ जना बालबालिकालाई नियमित खोपको पूरा गरिएको कार्यालय प्रमुख शर्माको प्रतिवेदनमा उल्लेख छ । एक वर्षको अवधिमा कार्यालयले जिल्लाका १० जना महिला सामुदायिक स्वास्थ्य स्वयंसेवीकाहरुलाई सम्मान सहितको बिदाई गरिएको छ ।

पछिल्लो पटक सेवन गरिएको हात्तीपाइले रोग बिरुद्धको औषधिले अहिलेसम्मको अवस्था राम्रो रहेकोले आगामी दुई वर्ष औषधि सेवन गर्नु नपर्ने, जिल्लमा छ जना नयाँ कुष्ठरोग र १३ जना एच.आई.भी सङ्क्रमितहरू थपिएको, जिल्लाका ८२ वटा पानीका स्रोतबाट दुई सय ४० वटा नमुना लिएर परीक्षण गर्दा ३३ वटा नमुनामा कोलिफर्म भेटिएपछि सम्बन्धित स्थानीय तहलाई पानीको अवस्थामा सुधार गर्न अनुरोध गरिएको पनि कार्यालय प्रमुख शर्माले बताउनुभयो ।

उहाँका अनुसार कार्यालयमा चालुतर्फ सङ्घ र प्रदेशबाट गरेर पाँच करोड १४ लाख ४४ हजार एक सय रुपैयाँ आएकोमा यसमध्येको ८७.५६ प्रतिशत अर्थात् चार करोड ५० लाख ४२ हजार छ सय ९४ तथा पुँजीगततर्फ एक करोड ४२ लाख ५० हजार बजेट आएकोमा यसमध्येको ५५.९९ प्रतिशत अर्थात् ७९ लाख ७८ हजार आठ सय ९३ रुपैयाँ खर्च भएको छ ।
कार्यक्रममा बोल्दै जिल्ला समन्वय समितिका उपप्रमुख सोमबहादुर जि.सी.ले जिल्लामा रहेको कार्यालय तथा राज्यका अन्य संरचनाहरूमा अधिकार प्रत्यायोजन नगर्दा काम गर्नमा नै समस्या भइरहेको बताउनुभयो । देशमा सङ्घीयता आएको भए पनि राज्यले अधिकार स्थानान्तरण नगर्दा नागरिकले सङ्घीयताको अनुभव गर्न नपाएको उहाँको भनाई छ । साबिकको जिल्ला विकास समिति र जिल्ला स्वास्थ्य कार्यालय रहँदाको अवस्थामा जस्तै सुविधा नागरिकले खोजेको भए पनि यी यस्तै अरू कार्यालयहरूलाई समन्वय गर्नका लागि मात्रै राखिएको बताउनुभयो । स्वास्थ्य, शिक्षा, कर्मचारी नियुक्ति लगायतको विषयमा स्थानीय तहहरूले आवश्यक समन्वय नगर्दा र आफूखुसी नियुक्ति गर्दा कुनै दिन त्यसले समस्यामा निम्त्याउने उपप्रमुख जि.सी.को भनाई छ ।
कार्यक्रममा जिल्लामा स्वास्थ्य संस्था स्थापना गर्ने तथा एम्बुलेन्स भित्राउने लहरका विषयमा आलोचना भएको छ । स्वास्थ्य कार्यालयकातर्फबाट जिल्लामा रहेको १९ वटामध्ये १० वटा मात्रै चालु अवस्थामा रहेको जानकारी गराएपछि सहभागीहरूले प्रतिष्ठाको रूपमा एम्बुलेन्स ल्याए पनि त्यसलाई पाल्नमा भोगिएका समस्याका बारेमा प्रश्न उठेको हो । गाउँ गाउँमा रहेका एम्बुलेन्सहरू त्रिपालले छोपेर राखिएको अवस्था रहेकोप्रति सहभागीहरूले चिन्ता व्यक्त गरेका छन् ।
कार्यक्रममा जिल्ला समन्वय अधिकारी कमलप्रसाद पुन, पर्वत अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा. हेमन्त बास्तोला, कोष तथा लेखा नियन्त्रण कार्यालय पर्वतका कोष नियन्त्रक गुरुदत्त शर्मा, नेपाल पत्रकार महासङ्घ पर्वतका अध्यक्ष सन्तोष थापा, जिल्ला प्रशासन कार्यालयका प्रतिनिधि भरत सापकोटा, विभिन्न सञ्चार माध्यमहरूमा आबद्ध पत्रकार, स्वास्थ्य कार्यालयका कर्मचारीहरू लगायतको उपस्थिति रहेको थियोे ।
कार्यालय प्रमुख शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रमको सञ्चालन कार्यालयकी सूचना अधिकारी तथा पब्लिक हेल्थ नर्सिङ निरीक्षक सुमन शर्माले गर्नुभएको थियो।

ताजा

Related Articles