27.1 C
Kathmandu
Sunday, April 19, 2026

परम्परागत पेसाको प्रवर्द्धन गर्न अतिथिलाई हँसिया र बन्चरो उपहार

लक्ष्मण बिसि, पर्वत- पछिल्लो समय विभिन्न मेला महोत्सवमा स्थानीय उत्पादनको प्रदर्शन र बिक्रीवितरण गर्ने परम्परा नै बनेको छ । साथै स्थानीय स्तरमा उत्पादित बस्तु तथा सामग्री कार्यक्रमका अतिथिहरुलाई मायाको चिनो र उपहार स्वरुप प्रदान गर्ने चलन समेत बढ्दो क्रममा छ । अतिथिहरुलाई स्थानीय उत्पादन कृषि उपजबाट उत्पादित सामाग्री, विभिन्न जातजातिको पहिचान झल्काउने र संस्कृतिको जगेर्ना गर्ने खालका विभिन्न सामान र कपडाहरु उपहार दिएको त हामीले देखेका र सुनेका छौँ । तर यहाँको एक स्थानीय संस्थाले आयोजना गरेको कार्यक्रममा भने नौलो दृश्य देखियो, त्यो हो कार्यक्रमका अतिथिलाई मायाको चिनो स्वरुप स्थानीय उत्पादन हँसिया (आसी) र बन्चरो प्रदान गरिएको छ । बागलुङको जैमिनी नगरपालिका वडा नं. १०, राङखानी स्थित विश्वकर्मा समाज सृजना टोलद्वारा नेपालीहरुको मुख्य चाड वडा दशैँको अवसरमा आयोजित विविध खेलकुद तथा सांस्कृतिक कार्यक्रमका अवसरमा आफ्नै समुदायले उत्पादन गरेको आकर्षक हँसिया, बन्चरो लगायतका सामाग्री मायाको चिनो स्वरुप अतिथिलाई प्रदान गरिएको हो ।
पहिलोपटक उपहार स्वरुप आकर्षक हँसिया र बन्चरो पाएकोमा अतिथिहरुले नौलो माने र मख्ख परे । आमन्त्रित अतिथिहरुले समाजको उक्त जुक्तिको खुलेर प्रसंसा समेत गरेका थिए ।

आफ्नो समुदायको पेसाको संरक्षण र प्रबर्द्धन गर्ने उद्धेश्यले स्थानीयले उत्पादन गरेको हँसिया र बन्चरो अतिथिलाई मायाको चिनोको रुपमा प्रदान गरिएको समाजका अध्यक्ष तथा कार्यक्रम संयोजक अमृत विश्वकर्माले जानकारी दिए ।

उनले भने “यस कार्यले हाम्रो पेशा संरक्षणसँगै आम्दानी पनि बढाउँछ भन्ने अपेक्षा छ ।” विश्वकर्मा समुदायले आरनको कामलाई आधुनिक रुपमा व्यवस्थित गर्दै फलामबाट उत्पादित सामाग्रीको बिक्रीवितरण गर्ने र आय आर्जनमा जोड दिनुपर्ने उनले बताए ।
अतिथिलाई उपहार दिइएको हँसिया, बन्चरो लगायतका सामाग्री स्थानीय अशोक विश्वकर्माले बनाएका हुन् । आफ्ना पुर्खाहरुले गर्दै आएको आरनको काम गर्ने उक्त सीप हजुरबुबा र बुबाबाट सिकेको उनले बताए । राङखानीको सृजना टोलमा ४३ घरपरिवार विश्वकर्माको रहेको छ । ति मध्ये १५ घर परिवारले आरनको काम गर्दै आएका छन् । कार्यक्रममा प्रमुख अतिथिको रुपमा सहभागी भएका बाग्लुङको जैमिनी नगरपालिकाका प्रमुख नर बहादुर पुन लगायतका अतिथिहरुलाई मायाको चिनोका रुपमा हँसिया प्रदान गरिएको थियो ।

नगर प्रमुख पुनले हँसिया र बञ्चरो उपहार पाएकोमा खुशी व्यक्त गर्दै समाजले नौलो र अनुकरणीय काम गरेको बताए । उनले भने” स्वागतमा खादाको सट्टा पिपलको पात, मायाको चिनोमा हँसिया र बञ्चरो दिनु भएको थियो, एकदमै गज्जब लाग्यो ।” आफु मेयर भएपछि औपचारिक कार्यक्रमको पहिलो उद्घाटन गरेको बताउँदै आफु विश्वकर्मा समाजले आयोजना गरेको कार्यक्रमले प्रभावित भएको बताए ।

नगर प्रमुख पुनले भने” हाम्रा स्थानीय उत्पादन मास्न हुन्न, यी हाम्रा पहिचानपनि हुन । ‘यसले स्थानीय उत्पादनको संरक्षण सहित आम्दानीको श्रोतपनि बढाउँछ ।” विश्वकर्मा समुदायको परम्परा आरन व्यवसायको संरक्षण र प्रवर्द्धनका लागि चालु आर्थिक वर्षमा आरन सुधारको कार्यक्रम संचालन भएको उनले बताए ।

ताजा

Related Articles