पर्वत- पर्वत सदरमुकाम कुश्मा बजारमा रहेको शिवालय माध्यमिक विद्यालयको ४३ औँ वार्षिकोत्सव तथा ४२ औँ अभिभावक दिवस सम्पन्न भएको छ । विद्यालयमा विविध शैक्षिक तथा सांस्कृतिक कार्यक्रमको आयोजना गरि आइतबार उक्त कार्यक्रम सम्पन्न भएको हो ।
कार्यक्रममा विद्यालयका प्रधानाध्यापक भूपेन्द्र चापागाईँले स्वागत सहित प्रगति प्रतिवेदन र लेखा सहायक पूर्णबहादुर कुँवरले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । विद्यालय व्यवस्थापन समितिका सदस्य यज्ञप्रसाद शर्माले व्यवस्थापन समितिले सञ्चालन गरेका शैक्षिक गतिविधिहरू र भावी योजना प्रस्तुत गरे ।
कार्यक्रममा हाल अमेरिकामा रहँदै आएका विद्यालयका पूर्व विद्यार्थी अर्जुन शर्माले विद्यालयलाई सहयोग स्वरूप पठाएको ३० हजार मूल्य बराबरको पाँच थान सी.सी. क्यामेरा र तीन सय मिटर तार हस्तान्तरण गरिएको छ । सहयोगदाता शर्माका दाजु कुश्मा नगरपालिका–६ का वडा सदस्य प्रकाश शर्मा र शिवालय बगैँचा शैक्षिक समाजका अध्यक्ष दीपेन्द्र बहादुर भण्डारीले उक्त सामाग्री संयुक्त रूपमा विद्यालयलाई हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा उत्कृष्ट विद्यार्थीको रूपमा विद्यार्थीहरू अञ्जली विश्वकर्मा र प्रतीक चापागाईँ, उत्कृष्ट अभिभावकको रूपमा सपना रसाइली, उत्कृष्ट शिक्षकको रूपमा देव शर्मा र आनन्द पौडेल, पूर्व शिक्षक हरिनारायण उपाध्याय र पूर्व कर्मचारी नवराज शर्मालाई सम्मान गरिएको छ । यस्तै विभिन्न प्रतियोगिताहरूमा विजयी विद्यार्थीहरूलाई पुरस्कार र मेडल पनि सोही अवसरमा प्रदान गरिएको छ ।
कार्यक्रम कुश्मा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नेत्रप्रसाद पौडेलको प्रमुख आतिथ्यमा सम्पन्न भएको हो । कार्यक्रममा विद्यार्थीहरूको तर्फबाट अञ्जली वि.क र प्रदीप पौडेल, विद्यालयका एकेडेमी इन्चार्ज गोविन्द प्रसाद पोख्रेल, शिक्षक अभिभावक सङ्घका अध्यक्ष कृष्णप्रसाद पौडेल, शिवालय बगैँचा शैक्षिक समाजका अध्यक्ष दीपेन्द्र बहादुर भण्डारी, अक्षयकोषदाता सरस्वती भण्डारी, वरिष्ठ चन्दादाता मानकुमारी गिरी, पर्वत अस्पताल विकास समितिका अध्यक्ष शङ्कर गिरी, विद्यालयका पूर्व प्रधानाध्यापक डा. चूडामणि शर्मा, कुश्मा नगरपालिका–७ का वडाध्यक्ष परशुराम पुरी, कुश्मा नगरपालिकाका शिक्षा अधिकृत दीपक सुवेदी लगायतका वक्ताहरूले शुभकामना मन्तव्य राखेका थिए ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष भविन्द्र गिरीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको सञ्चालन शिक्षक आनन्द पौडेलले गरेका थिए ।

