21.1 C
Kathmandu
Friday, April 17, 2026

पर्वतका सरकारी कार्यालयका सूचना अधिकारी र पत्रकारबीच अन्तरक्रिया सम्पन्न

पर्वत- पर्वत जिल्ला स्थित विभिन्न सररकारी कार्यालयका सुचना अधिकारी र पत्रकारहरुबीच बुधबार कुश्मामा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ ।
जिल्ला प्रशासन कार्यालय पर्वतको आयोजनामा कार्यालयहरुको अर्धवार्षिक गतिविधि सार्वजनिक सहित अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नागरिकलाई सहज रुपमा सेवा प्रवाह गर्ने कुरामा कुनै कसर बाँकी नराख्न जिल्ला स्थित कार्यालयहरुलाई आग्रह गरेका छन् । सरकारी निकायहरुलाई नागरिकप्रति जिम्मेवार बनाउन निरन्तर खबरदारी गर्नुपर्ने बताउदै राज्यबाट संचालित कार्यक्रमहरु पारदर्शी र जनमुखी बनाउन संचारकर्मीहरुले पुलको भुमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा बोल्दै नेपाल पत्रकार महासंघ पर्वतका अध्यक्ष लक्ष्मण सापकोटाले कार्यालयहरुवाट प्रवाह हुने नागरिकमैत्री सेवा, सुशासन, पारदर्शितामा पत्रकारहरुको सँधै साथ र सहकार्य हुने बताए । राज्यका जिम्मेवार निकायवाट हुने अपारदर्शिता, भ्रष्टाचार र अनियमिततामा पत्रकारहरुले सँधै खबरदारी गर्ने उनले बताए ।
सरकारी निकायहरुवाट प्रवाह भएका सेवाहरुवाट जिल्लावासीहरु सन्तुष्ट नरहेको बताउँदै राज्यका सेवाहरु सामान्य नागरिकले समेत सहजै प्राप्त गर्न सक्नेगरी दिनुपर्नेमा जोड दिए । अहिलेपनि पहुँच, दबाब र प्रभावको भरमा राज्यका सेवा सुविधा लिईरहेको बताउँदै अध्यक्ष सापकोटाले यसतर्फ जिम्मेवार हुन आग्रह समेत गरे ।
संघ र प्रदेश कार्यालयहरुले चालु आर्थिक वर्षको ६ महिनामा गरेका कामहरुको समेत प्रगति न्यून देखिएको छ । जिल्लामा रहेका कार्यालय र स्थानीय तहहरुबीच आवश्यक समन्वय र सहकार्य गर्नुपर्ने अध्यक्ष सापकोटाको भनाइ थियोे।
कार्यालयमा संचालन हुने कार्यक्रमका बारेमा सहज तरिकाले नागरिकलाई सूचना प्रवाह गर्दै सबै कार्यहरू पारदर्शी र गुणस्तरीय हुनुपर्नेमा पत्रकारहरुले जोड दिएका छन् ।
कार्यक्रममा जिल्ला स्थित दुई दर्जन बढि कार्यालयले साउनदेखि पौषसम्मको प्रगति विवरण, समस्या तथा कार्यालयका अन्य गतिविधिहरुका बारेमा जानकारी गराएका थिए ।
सोही कार्यक्रमका अवसरमा प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माले नेपाल पत्रकार महासंघका नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई र सम्मान व्यक्त गरेका थिए । प्रमुख जिल्ला अधिकारी केदारनाथ शर्माको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सहायक प्रमुख जिल्ला अधिकारी गणेश पौडेलको स्वागत र संचालन भरत सापकोटाले गरेका थिए ।

ताजा

Related Articles