पर्वत- पर्वतको फलेवास नगरपालिका-६ देविस्थान स्थित जनता माध्यमिक बिद्यालयमा शुक्रबार नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको छ ।
फलेवास नगरपालिकाको २०८१/०८२ को वार्षिक शैक्षिक कार्यतालिका अनुसार आधारभूत तह (कक्षा ६-८) का विद्यार्थीहरूका लागि अंग्रेजी, गणित र विज्ञान विषयमा नगरपालिका स्तरीय हाजिरीजवाफ प्रतियोगिता सम्पन्न भएको विद्यालयका शिक्षक सन्तोष श्रेष्ठले जानकारी दिए ।
प्रतियोगितामा नगरपालिकाका विभिन्न १२ विद्यालयका विद्यार्थीहरूको उत्साहजनक सहभागिता रहेको थियो । प्रतिस्पर्धात्मक रुपमा सम्पन्न प्रतियोगितामा जनता माध्यमिक विद्यालय, फलेवास नगरपालिका-६, देवीस्थान, पर्वत प्रथम स्थान हासिल गर्न सफल भएको छ । भवानी विद्यापीठ माध्यमिक विद्यालय, खानीगाउँ, पर्वत दोस्रो तथा लिमिउल्लेरी आधारभूत विद्यालय, भगरा तेस्रो भएका छन् ।
कार्यक्रममा बोल्दै जनता माबिका प्रधानाध्यापक जीवनाथ पौडेलले विद्यार्थीहरूको क्षमता विकासका लागि किताबी ज्ञानमा मात्र सिमित नभएर अतिरिक्त क्रियाकलापमा जोड दिनुपर्ने बताए । बिद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सबैको सहयोग आवश्यक रहेको पौडेलको भनाइ थियोे ।
विद्यालय व्यवस्थापन समितिका ज्येष्ठ सदस्य भोलानाथ भुसालको अध्यक्षतामा सम्पन्न कार्यक्रमको संचालन शिक्षक द्वय धना न्यौपाने र उपेन्द्र बहादुर थापाले गरेका थिए ।

