नयन न्युज
१७ फाल्गुन २०८१, पर्वत
पर्वतको फलेवास नगरपालिका-२, थापाठानामा नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्था लिमिटेडको आयोजनामा वित्तीय साक्षरता, कर्जा मिनाहा एवम् दाबी भुक्तानी कार्यक्रम सम्पन्न भएको छ । थापाठाना शाखाका बचतकर्ता बसुनधरी शर्मा भण्डारीको मृत्यु पश्चात् उनको कर्जा मिनाहा, दाबी भुक्तानी सँगै वित्तीय साक्षरता कार्यक्रम सनिवार सम्पन्न भएको हो ।
भण्डारीले संस्थाबाट लिएको रु. १० लाख ४० हजार कर्जामध्ये उनले तिर्नु बाँकी रहेको ६ लाख ५३ हजार ३ सय २९ रुपैयाँ मिनाहा गरिदिएको हो । त्यस्तै उनले तिरेको ४ लाख ७१ हजार, बचत गरेको १ लाख २८ हजार ३५५ साथै व्यक्तिग, व्यावसायिक र पेन्सनको गरि ६ लाख रकम फिर्ता गरिएको छ ।
फिर्ता रकमको चेक स्व. बसुनधरी शर्मा भण्डारीका श्रीमान बलबहादुर भण्डारीलाई हस्तान्तरण गरिएको छ । कर्जाको अनुपातका आधारमा १ लाख ४ हजार भण्डारीको परिवारलाई किरिया खर्च समेत उपलब्ध गराइएको छ । कार्यक्रममा बोल्दै नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्था लिमिटेडका संस्थापक अध्यक्ष विश्व प्रकाश प्रसाइले संस्थाले गाउँघरमा वित्तीय साक्षरता बढाउदै बचत गर्ने बानीको विकास गराइ जनताको सुखदुःखमा साथ दिएको बताए । देशभर संस्थामा ८० हजार बचतकर्ता रहेको बताउदै उनिहरुलाई आर्थिक समस्या पर्दा सहजै कर्जा प्रदान गरि आयआर्जन वृद्धिमा सहयोग पुर्याएको उनले बताए । वित्तीय साक्षरता कार्यक्रमले बचतकर्तालाई संस्थाप्रति विश्वास र उत्साह बढाएको बताउदै नेष्डोले वित्तीय सुशासन जोड दिएर आफ्नो सेवा सुबिधालाई प्रभावकारी बनाएको प्रसाईंको भनाई छ ।
कार्यक्रममा शाखामा आवद्ध समृद्ध व्यवसायिक केन्द्रहरु मध्ये उत्कृष्ठ केन्द्रहरुलाई नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरिएको छ । यसरी सम्मानित केन्द्रहरुमा प्रथम स्थान हासिल गर्ने फलेवास नगरपालिका, वडा नं. २ घैयारा स्थित घैयारा समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ११, दोश्रो स्थान हासिल गर्ने फलेवास नगरपालिका, वडा नं. ८ भँगरा स्थित श्री वगरमारा समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ५२, तेश्रो स्थान हासिल गर्ने कुश्मा नगरपालिका, वडा नं. १३ खौला स्थित उन्नतीशिल समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. २१ र सान्त्वना स्थान हासिल गर्ने फलेवास नगरपालिका वडा नं. २ थापाठाना स्थित विकासिल समृद्ध व्यवसायिक केन्द्र, केन्द्र नं. ६ रहेका छन् । कार्यक्रममा संस्थाको सेवा विस्तारमा टेवा पुर्याउने विभिन्न केन्द्रका उत्कृष्ठ सदस्यहरुलाई समेत सम्मान गरिएको छ । यसरी सम्मानित हुने उत्कृष्ठ सदस्यहरुमा जुना थापा, धन कुमारी श्रेष्ठ, सिता श्रेष्ठ, कमला कुमारी अधिकारी भण्डारी, राममायाँ जि.सी., वेलमायाँ जि.सी, मिना थापा लगायत छन् ।
उक्त कार्यक्रममा पर्वत र स्याङ्जाका विभिन्न शाखाका करिब ४ सय जना बचतकर्ताहरुको सहभागीता रहेको थियो भने राजनीतिक दल, सामाजिक संस्थाका प्रमुख तथा प्रतिनिधिहरु, पत्रकार लगायतको उपस्थिति रहेको थियो।
नेष्डो समृद्ध लघुबित्त वित्तीय संस्था लिमिटेडका निमित्त कार्यकारी प्रमुख युधिष्ठिर भुसालको अध्यक्षतामा भएको कार्यक्रममा नेष्डो संमृद्धका सहायक प्रबन्धक एवं एचआर प्रमुख उत्तम प्रसाद अधिकारीको स्वागत तथा नेष्डो समृद्धका सहायक अधिकृत इश्वरी र्शमाले कार्यक्रम संचालन गरेका थिए ।

