29.1 C
Kathmandu
Tuesday, April 21, 2026

महाशिलामा ६ दिने स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न

नयन न्युज,पर्वत
२० फाल्गुन २०८१
पर्वतको महाशिला गाउँपालिका-५ लुंखुमा ५८६ औं स्काउट आधारभूत (बि.टि.सि) तालिम सम्पन्न भएको छ । पर्वत, बागलुङ, म्याग्दी र कास्कीका ४ जिल्लाका शिक्षकहरुलाई यहीँ फाल्गुन १५ देखि २० गतेसम्म ६ दिन उक्त तालिम प्रदान गरिएको हो । प्रदेश स्काउट कार्यालय गण्डकी प्रदेशको व्यवस्थापन र स्थानीय स्काउट कार्यालय महाशिला गाउँपालिकाको समन्वय संचालित तालिममा २८ जनाको सहभागीता रहेको थियो । तालिमका सहभागीलाई शारीरिक, मानसिक, सामाजिक, आध्यात्मिक र संवेगात्मक भावनाको विकाससँग सम्बन्धित जानकारी गराईएको छ । साथै अनुशासन, सदाचार, नैतिकताका विषयबारे पनि सिकाईएको थियो । विपपछिको उद्धार, राष्ट्र निर्माणमा कसरी योगदान दिन सकिन्छ भन्ने विषयमा पनि तालिम दिइएको प्रदेश स्काउट कार्यालयका कोर्ष लिडर सागर पौडेलले जानकारी दिए । सहभागीले तालिम प्रश्चात आफ्नो क्षेत्रमा ११ देखि १६ वर्ष उमेरका किशोरकिशोरीलाई पनि विभिन्न विषयमा जानकारी दिनुपर्ने पौडेलले बताए ।

समापन कार्यक्रममा बोल्दै महाशिला गाउँपालिका अध्यक्ष इश्वरीप्रसाद भुषालले तालिम पश्चात् अनुशासित र मर्यादित समाज निर्माणका लागि सकारात्मक भूमिका रहने उल्लेख गरेका छन् । उनले स्काउटले सामाजिक रुपमा परिवर्तन गर्ने नेतृत्वदायी भुमिका सृजना गर्ने हुँदा विद्यालय स्तरमा स्काउटको भुमिका अहम हुने बताए ।

गाउँपालिकाकी उपाध्याक्ष धनसुबा विकले नेतृत्व विकास सँगै अनुशासन, व्यवहारिक ज्ञान, सामजिक क्षेत्र र विपद व्यवस्थापनमा सहयोग पुग्ने बताइन । कार्यक्रममा महाशिला गाउँपालिका वडा नं. ६ फलामखानीका वडा अध्यक्ष गोविन्द बहादुर विश्वकर्मा, सामजिक विकास युवा तथा खेलकुद मन्त्रालय गण्डकी प्रदेश खेलकुद शाखा प्रमुख टंकप्रसाद ढकाल, महाशिला गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत देवेन्द्र पाण्डेले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा सहभागीहरुलाई नेपाल स्काउटको विधान अनुरुप दीक्षित समेत गरिएको थियोे । उक्त कार्यक्रमको संचालन प्रदेश स्काउट कार्यालयका अधिकृत विजय पौडेलले गरेका थिए ।

ताजा

Related Articles