21.1 C
Kathmandu
Friday, April 17, 2026

स्ववियु पिएन क्याम्पसको अध्यक्षका उम्मेदवार, को हुन्, सन्तोष पौडेल ?

देशकै सबैभन्दा धेरै विद्यार्थी अध्ययन गर्ने पोखराको पृथ्वीनारायण क्याम्पसमा लामो समयदेखि स्ववियु निर्वाचन हुन सकेको छैन । यसपटक भने विवादरहित ढंगले माहौल अघि बढिरहेको छ । स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) अध्यक्षका लागि ८ जनाले उम्मेदवारी दिएका छन् ।

५ विद्यार्थी संगठनको संयुक्त प्यानल अनेरास्ववियूका सन्तोष पौडेलको नेतृत्वमा चुनावी मैदानमा छ । एकीकृत समाजवादी निकट अनेरास्ववियूका उम्मेदवार पौडेललाई विप्लव नेतृत्वको माओवादी निकट अखिल समाजवादी, अखिल क्रान्तिकारी वैद्य समूह, नेकपा बहुमत निकट अखिल क्रान्तिकारी लगायतले साथ दिएको छ ।

को हुन् सन्तोष पौडेल ?

पर्वत जिल्ला फलेवास नगरपालिका वडा नम्बर ५, खानीगाँउ चितिपानी स्थायी घर भई हाल अध्ययनको सिलसिलामा पोखरा बस्ने सन्तोष पौडेल बाल्यकाल देखि नै सामाजिक कार्यहरूमा अग्रसर रहँदै आएका छन् ।

विद्यालय तहदेखि नै रेडक्रस, बाल क्लब अन्य संघसंस्थामा सकृय रूपमा काम गरेको उनीसँग अनुभव छ । २ बर्षसम्म खानीगाउँं बाल संजाल सचिवको रूपमा काम गरेका उनी राष्ट्रिय बाल परिषद् अन्तर्गत सूचिकृत बाल अधिकार संवाहक पनि हुन् ।

राष्ट्रिय यूवा परिषदको गण्डकी यूवा संजालका प्रदेश सदस्य पदमा रही १ बर्ष काम गरेका उनी हाल अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीका अध्यक्ष पनि हुन् ।

हालसम्म कयौँ पटक स्ववियु निर्वाचन भएतापनि विद्यार्थीका समस्याहरू जस्ताको तस्तै रहिरहेको र यस्ता समस्या समाधानको लागि उपयुक्त पात्रलाई नेतृत्वमा लग्नुपर्नेमा उनी जोड दिन्छन् । ‘राजनीति जोगाउनका लागि मात्र विद्यार्थी बनेका आयातित राजनीतिज्ञले नभई नियमित वास्तविक विद्यार्थीहरूले स्ववियुमा ठाउँ पाउनुपर्छ ।’ – उनले भने ।

विगतमा भएका यस्तै कार्यहरूले गर्दा आज त्रिभुवन विश्वविद्यालयमा चरम लापरबाही र बिद्यार्थीमाथि खेलबाड भैरहेको पौडेलले बताए । यस्ता तमाम समस्याहरूको दीगो समाधानको लागि आफ्नो उम्मेद्वारी रहेको उनको भनाई छ ।

स्ववियु अध्यक्षका लागि पिएनमा सन्तोषसँगै नेकपा एमाले निकट अनेरास्वियुबाट विष्णु पोखरेल, कांग्रेसनिकट नेविसंघबाट सुशिल न्यौपाने र माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीबाट नविन अधिकारीले उम्मेदवारी दर्ता गराएका छन् ।

यस्तै, अनेरास्ववियू, अखिल समाजवादी विप्लव, अखिल क्रान्तिकारी बहुमतसहितको संयुक्त मोर्चाबाट सन्तोष पौडेल, अखिल छैटौंबाट मिलन सुनार, प्राज्ञिक विद्यार्थी परिषद्बाट दिप्सन गुरुङले अध्यक्षमा उम्मेदवारी दिँदा विप्लबी न्यौपाने र कमल सुवेदीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराएका छन् ।

ताजा

Related Articles