३१ चैत २०८१,पर्वत
नेकपा (एकीकृत समाजवादी) पर्वतले जिल्ला प्रशासन कार्यालय पर्वत मार्फत सरकारलाई ज्ञापनपत्र बुझाएको छ । पार्टीको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मोती प्रसाद पौडेल र जिल्ला अध्यक्ष बिराज हमालको नेतृत्वमा प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरे मार्फत सरकारको ध्यानाकर्षण गराउन आइतबार ज्ञापनपत्र बुझाइएको हो । 
७७ वटै जिल्लामा ज्ञानपनपत्र बुझाउने पार्टीको परिपत्र अनुसार आज पर्वतमा ज्ञानपन पत्र बुझाइएको केन्द्रिय सदस्य तथा जिल्ला इन्चार्ज मोती प्रसाद पौडेलले जानकारी दिनुभयो ।
देशमा बढ्दै गएको बेथिति र गणतन्त्र विरोधी गतिविधि विरूद्ध गत चैत १५ गते नेकपा (एकीकृत समाजवादी)सहित राजनीति दलले शान्तिपूर्ण आन्दोलन गरेकोमा राजतन्त्रबादीले विभिन्न ठाउमा तोडफोड गर्नुका साथै आगजनीको घटनाको बिरोध गर्दै सरकारको ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाइएको पार्टीका जिल्ला अध्यक्ष बिराज हमालले बताए । साथै नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय र जिल्ला कमिटी काठमाडौँ तिनकुनेमा तोडफोड गरि भौतिक क्षति पुर्याएको घटनाका दोषीलाई कारबाहीको माग गरिएको उनले बताए । उनले भने “हाम्रो आन्दोलनलाई बदनाम गराउने कुत्सित मानसिकताले प्रतिगामीहरुले गणतन्त्रको पक्षमा योगदान गर्दै आएको पार्टी कार्यालयमा क्षति पुर्याएका छन्। ती र त्यस्ता घटनामा संलग्नलाई पक्राउ गरि छिटोभन्दा छिटो कार्वाहीको दायरामा ल्याउन माग गर्दछौं।”
घटनाको दोषीलाई कार्वाही गर्नुपर्ने, घाइतेको निःशुल्क उपचार गर्नुपर्ने, पीडितलाई क्षतिपूर्ति दिनुपर्ने, पत्रकार सुरेश रजतलाई सहिद घोषणा गर्नुपेर्ने, हिंसा र अराजक गतिविधि नियन्त्रण गरि नागरिकको जनधनको सुरक्षा गर्न जोडदार माग गरिएको छ। ज्ञापनपत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी हरि प्रसाद घिमिरेले पत्र तत्काल सरकारलाई पठाउने बताउनुभएको छ ।


