पर्वत- नेकपा (एकीकृत समाजवादी) निकट मुस्लिम इत्तेहाद संगठन नेपाल जिल्ला कमिटी पर्वतको छैठौं पुर्ण बैठक बुधबार कुश्मामा सम्पन्न भएको छ ।
बैठकमा नेकपा एकीकृत समाजवादी पर्वतको आगामी जेष्ठ १० र ११ गते आयोजना गरिएको नवौं जिल्ला अधिवेशनलाई सफल पार्न विभिन्न कार्य गर्ने, संगठन सुदृढीकरणका लागि समुदायमा भेटघाट तथा छलफल गर्ने लगायतका निर्णय भएका छन् ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश कमिटी सदस्य तथा मुस्लिम इत्तेहाद संगठन गण्डकी प्रदेशका अध्यक्ष मोहम्मद सहाब अलिले नेकपा एकीकृत समाजवादी पार्टी दलाल पुजीवादीको पक्षमा नभई सर्वहारा वर्गको काममा अग्रसर भएको बताउदै नेकपा एकीकृत समाजवादीमा सबै गोलबन्द हुनुपर्नेमा जोड दिनुभयो । मुस्लिम समुदायको हितका लागि सधैं तल्लीन रहेको बताउदै पर्वतमा मुस्लिम समुदायको कब्रस्तान निर्माणका लागि संघ र प्रदेश सरकारलाई आर्थिक सहयोगका लागि निवेदन पेश गरेको बताउनुभयो ।
कार्यक्रममा बोल्दै नेकपा एकीकृत समाजवादी पर्वतका अध्यक्ष बिराज हमालले पार्टीको नवौं जिल्ला अधिवेशनलाई सफल पार्नका लागि आ-आफ्नो ठाउँबाट सकारात्मक भुमिका निर्वाह गर्न सबै नेताहरुलाई आग्रह गर्नुभयो । पार्टी सुदृढीकरण र अधिवेशन तयारीका लागि जिल्लाका ७ वटै पालिकाहरुमा पालिका स्तरीय बैठक तथा भेलाको आयोजना गरिएको उहाँले बताउनुभयो । पार्टी सधैं देशको बेथिति विरुद्ध लागेको र जनताको सुखदुःखमा साथ दिएको उहाँले बताउनुभयो । देशको विकास र समृद्धिका लागि पार्टीको केन्द्रिय सर्कुलर अनुसार “सुशासन र रोजगारी, समाजवादको तयारी” भन्ने नारासहित विभिन्न कार्यक्रम आयोजना गरिने हमालले बताउनुभयो ।
बैठकमा नेकपा एकीकृत समाजवादी गण्डकी प्रदेश सदस्य सुवास रोका, पार्टीका जिल्ला सचिव बिधान पौडेल, समाजवादी प्रेस संगठन पर्वतका अध्यक्ष लक्ष्मण बिसि लगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियोे ।
मुस्लिम इत्तेहाद संगठन पर्वतका अध्यक्ष रमजान अलिको अध्यक्षतामा सम्पन्न बैठकको संचालन संगठनका कोषाध्यक्ष मुक्तार अलिले गर्नुभएको थियोे ।

