पर्वत-पछिल्लो समय देश छाड्नेको संख्या बढिरहेको बेलामा पर्वत घर भएका ५ हजार ८ सय ७२ जनाले एक बर्षको अवधिमा औपचारिक रुपमा श्रम स्विकृति लिएका छन् । चालु आर्थिक बर्ष २०८१/८२ मा लिएको यो संख्या बर्षनी बढेर गएको छ । श्रम बजारको खोजीका लागि विदेशीने नेपालीहरुले औपचारिक रुपमा श्रम विभागबाट लिएको संख्या बाहेक पनि विदेशीनेको ठूलो संख्या छ । श्रम स्विकृति बेगर भिजिट भिषामा र शिक्षण भिषामा जानेको संख्या सरकारी तथ्यांकमा भेटिदैन् ।
शनिवार सुरक्षित आप्रबासन (सामी) कार्यक्रमले जिल्लाको सदरमुकाम कुश्मा बजारमा आयोजना गरेको कार्यक्रममा यस्तो तथ्यांक प्रस्तुत गरिएको हो । जिल्लामा रहेका युवा शक्तिहरु यतिबेला देश छाडेर विदेश जाने दर बढेर गएको बेला चालु आर्थिक बर्षमा मात्रै थप १० हजार ६ सय १५ जनाले राहदानी निकालेका छन् । यी मध्ये ८ हजार ४ सय ४ जना श्रमबजारको खोजीमा विदेशी मनस्थितीमा रहेको सामी कार्यक्रमले जनाएको छ ।
सुरक्षित आप्रबासन सम्बन्धि पर्वतको कुश्मा,मोदी र पैयू गाउँपालिकामा सञ्चालन भईरहेको कार्यक्रमले सुरक्षित आप्रवास सम्बन्धि कामहरु गरीरहेको छ । विदेशीने मध्ये कुल ८ जनाको विदेशमा नै मृत्यु भएको छ ।
श्रम स्विकृति लिएर विदेश जाने बाहेको तथ्यांक सरकारसंग नरहने हुँदा बार्षिक रुपमा ७ हजार बढि पर्वतबासीहरुले देश छोडिरहेको तथ्यांक रहेको अनुमान गर्न सकिन्छ ।

