पर्वत- पर्वत जिल्लाको विकास र समृद्धिका लागि तीनै तहका सरकारबीच आवश्यक समन्वय गर्नुपर्नेमा एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् ।
जिल्ला समन्वय समिति पर्वतले बिहीबार आयोजना गरेको जिल्ला समन्वय समिति, स्थानीय तहका पदाधिकारी र पत्रकारबीचको अन्तरक्रिया कार्यक्रममा सहभागिहरुले तीनै तहका सरकारबीच समन्वय र सहकार्यको अभावमा विकास निर्माण लगायतका अन्य गतिविधिहरु प्रभावकारी नभएको पाईएको छ । जिल्लामा संचालित सडक, सिंचाई, खानेपानी, शिक्षा, स्वास्थ्य क्षेत्रहरु प्रभावकारी हुन सकेका छैनन । संघ र प्रदेश सरकारले समेत स्थानीय तहले भन्दा पनि साना र टुक्रे योजनामा बजेट बिनीयोजन गर्दा यसको प्रभावकारी कार्यान्वयन र दिगो विकासमा असर गरेको पाईएको छ ।
कार्यक्रममा सहभागि पत्रकारहरुले तीन तहका सरकारबीच समन्वयात्मक वातावरण बढाउन, विकास निर्माणका कार्यलाई गुणस्तरीय निर्धारित मितिमै सम्पन्न गर्न, अलपत्र तथा लामो समयसम्म सम्पन्न हुन नसकेका रुग्ण योजनाहरुलाई सम्पन्न गर्नका लागि पहल गर्न, विकास निर्माणका कार्यहरुमा गुणस्तरीय नभएको, प्रभावकारी अनुगमन हुन नसकेको, सरकारी निकायको सेवा प्रवाहका साथै सुचना लुकाउने प्रवृत्ति तथा सुशासन र पारदर्शितामाथि प्रश्नहरु उठाएका थिए । जिल्लाको समग्र विकास र समस्याका बारेमा पत्रकारहरुको तर्फवाट गणेश पौडेलले प्रस्तुती राख्नुभएको थियो ।
सो अवसरमा जिल्ला समन्वय अधिकारी किरण पौडेलले चालु आर्थिक वर्षको जिल्लाभरको समग्र अवस्था, स्थानीय तह तथा संघ तथा प्रदेशका कार्यालयहरुवाट संचालित योजनाहरुको प्रभावकारीता र उपललब्धिका बारेमा प्रस्तुती राख्नुभएको थियो ।
कार्यक्रममा जिल्ला समन्वय समिति पर्वतका प्रमुख विष्णुराम विकले जिल्लाको समग्र विकास परिवर्तन र समृद्धिका लागि सवै एकजुट हुनुपर्ने बताउनुभयो । उहाँले सुशासन र पारदर्शिता विना समृद्धि आउन नसक्ने भन्दै विकास निर्माणका योजनाहरुमा तीनै तहबीच समान धारणा राखेर अघि बढ्नुपर्ने बताउनुभयो । उहाँले पत्रकारहरुवाट आएका सुझाव तथा प्रतिकृयालाई सातौ जिल्ला सभामा छलफल गरी आवश्यक कार्यान्वयनका लागि पहल गर्ने बताउनुभयो ।
कार्यक्रममा जिल्लाका सातवटै स्थानीय तहका प्रमुख तथा उपप्रमुख, जिल्ला समन्वय समितिका पदाधिकारी, उद्योग बाणिज्य संघ, पत्रकार लगायतको सहभागिता थियो ।
यसैबीच जिल्ला समन्वय समिति पर्वतका सातौ जिल्लासभा पनि बिहीवार नै सम्पन्न भएको छ ।
सभाले समसायिक विषयमा छलफल गरी विभिन्न निर्णयहरु गरेको छ ।
जिल्ला समन्वय समिति पर्वत, स्थानीय तहका पदाधिकारी र पत्रकारबीच अन्तरक्रिया सम्पन्न

