पर्वत-हरितालिका तीज हिन्दू महिलाको महान चाड हो । पौराणिक शास्त्रमा हिमालयकी सुपुत्री पार्वती महादेव पति पाँऊ भनी गरेको कठोर व्रर्त र त्यसबाट महादेवलाई स्वामी पाएको सफलताबाट यस पर्व र महिलाको वर्त सुरु भएको पाइन्छ । त्यसैले यस पर्वमा असल, कर्मठ र स्वास्थ्य स्वामी पाँऊ भनी महिलाले पुजाआजा गर्ने चलन छ तर यस पर्वलाई श्रीमान प्राप्त गर्ने लक्ष्यमा मात्र नराखी श्रीमानको दीर्घायु, असल स्वास्थ्य र प्रगतिको लागि पनि मनाउने र व्रर्त बस्नु अघि टन्न खाने चलनमा लागिएको छ । तिजमा गाउने गितमा भने त्यस्तो आभास भेटिएको छैन । गीतमा स्वामिको दिर्घायू भन्दा पनि नारीको दुःख र बेदना व्यक्त गरिन्छ ।
हिजोको समयमा महिलालाई घरमा धेरै काम गर्नु पर्ने, बुहारी भएको कारणले खुलेर बोल्न नपाउने, पानी बोक्न टाढा जानुपर्ने, दाउरा र घाँसको लागि जङ्गल पुग्नु पर्ने, धेरै बालबालिका पाइदिनु पर्ने, ढिकी जातोमा अन्न कुटपिस गर्नु पर्ने आदि बाध्यता थिए । फलस्वरुप वर्षको एक पटक माइत जाने २/४ दिन भए पनि आराम गर्ने, खुलेर माइतमा बोल्ने हाँस्ने, दाउरा घाँस , पानी पधेरो, ढिकी जाँतो आदि काममा भुल्दा पाएका दुःखलाई गीतको माध्यामले दिदी बहिनीहरु भेट भई व्यक्त गर्ने चलन थियो । तर अहिले समय फेरियो । घरघरमा पानीका धारा नजीकै कुटनीपिसनीलाई मिल, गाईवस्तु पाल्ने कम चलन, कम छोराछोरी पाउने, घाँस दाउरोको लागि पनि कमै जंगल जानु पर्ने, छोराछोरीमा भेदभाव नगर्ने, सासुले बुहारीलाई कमै थिचोमिचो गर्र्ने धेर,ै बुहारी घरमा नबसी बजारतिर गई श्रीमानको विदेशी कमाइले छोरा छोरी पढाएर बसी खर्च गर्ने आदि परिर्वतन समाजमा आएको कारणले महिलाले पुरानै घाँस दाउरा र ढिकी जाँतोमा आधा जीवन वितेका कथा बेथाका गीत गाउने भाका फेर्नु पर्ने देखिन्छ । कठै विस्नु माझिको तीज गीत ? कुन जमानाको….
गीतमा पुरुष महिलाका प्रगतिका बाधक भएको आभास प्रकट गरिन्छ । तर यो कति हदसम्म सत्य छ त ? सच्चिकै महिलाको बाधक पुरुष नै हुन् त ? पक्कै पनि प्रगतिमा महिलाको आफ्नै आन्तरिक कारणले पनि भुुूुमिका खेलेको हुन्छ । प्रगतिबादी दर्शनको सिद्धान्तमा “परिर्वतनको कारक तत्व वस्तुमा नै निहित हुन्छ” भनिएको छ । यसको अर्थ मानौ एक अण्डालाई र ढुङ्गालाई सँगै ओथारा बसेको कुखुरीलाई दियौ भने समय पुगेपछि अण्डाबाट चल्ला पैदा हुन्छ तर ढुङ्गा जे को त्यही । उहि वातावरणमा पनि फरक परिणाम । यसको अर्थ अण्डामा परिर्वतन हुने आन्तरिक तत्व छ तर ढुङ्गामा छैन । त्यसैले पुरुषलाई दोष लगाउने, आफु केही गर्छु भनि कमै अघि सर्ने महिलाको चलनलाई पनि परिर्वतन गर्नु आवश्यक छ । वास्तवमा महिलाको बाधक महिलानै भएको सामाजिक परिवेश छ । विवाह भए पछि राम्री, नराम्री, असल, खराब भनि टीका टिप्पणी समाजका महिलाले नै गर्छन् । घरमा धेरै काममा लगाउने, दवाब र नियन्त्रणमा राख्ने, पढ्न अवसर नदिने, मैले यसो गरेकी थिए उसो गरेकी थिए तैले त्यसो गरिनस भनि ताना सुनाउने र बुहारीलाई घर बाहिर जाँदा र बोल्दा कुरा काट्ने चलन ससुराको नभएर सासुकै र बुहारीकै त छ । अब भन्नुहोस महिलालाई थिचो मिचो गर्ने महिला कि पुरुष ? सरकार उत्तरदायी नभई बेरोजगार हुन पुगेका युवा खाडी मुलुकमा घाम पानी खपी सात समुन्द्र टाढाबाट दुःख सुख २/४ रुपैयाँ कमाएर घरको व्यवस्था सुर्धान त लागेकै छन् । तर उनीहरुको जीवनको बाजी राखेको कथा कसले सुनाइदिने । पुरुषले त्यती गर्दा आफ्नो देशमा वा घरमा बसी खेती किसान गरेर बच्चा हुर्काउदा महिलालाई गाह्रो भई पुरानै भाकामा गीत घन्काउने महिलाको चलन प्रगति तिर उन्मुख छैन । कृषिप्रधान देशमा सामान्य पढालेखा हुदैमा कृषिको काम गर्दा अचम्म मान्नु पर्ने त त्यस्तो केही हैन । आखिर चुलो चम्को महिलाले नगरे पुरुषले गर्नु पर्यो अनि पुरुष थिचिएको भन्ने ? खाना जनावरलाई झै प्राकृतिक रुपमा मानिसलाई त उपलब्ध छैन, पुरुष दिन भर पेशामा खप्नु पनि सहज कार्य हैन ।
अब महिला आफु कति परिर्वतन र समयको सदुपयोग गर्न चाहान्छन् त । राज्यले महिला लाई ३३% आरक्षण दिएको अवस्थामा र दलित, जनजाति र मधेशी महिलाको हकमा ब्रामणको एक पुरुषको सट्टा ३ ठाँउमा लड्न पाउने व्यवस्था छ । अहिले यस्तो अवसर दिदाँ, समान वातावरण दिई छोराछोरी स्कुल पढाउने व्यवस्था गर्दा, छोराछोरीमा भेदभाव नगर्दा पनि छोरीहरुका आफ्नै व्यवहारमा कमीकमजोरी रहेको छ, उनीहरुमा नै परिर्वतनको कारक तत्वको अभाव छ । धेरै छात्राहरुले पढाइलाई सानो उमेरमा चेष्ठा दिए पनि यौवन अवस्था आएपछि वेवास्ता गरेको, राम्रो लगाउने, राम्री बन्ने, नुवाइ र धुवाइमा पुरुषको तुलनामा बढी समय दिएको, अध्ययन गर्ने समयमा बढी गफ गर्ने र फेसनमा चल्ने, बाबुआमाको पढाउने चाहाना हुदाँहुदै पनि १६।१७ वर्षमा नै आफै विवाह गर्ने, विवाह पछि विवाह नै सबै भन्दा ठूलो हो भनी सबै कुरा पुगे झै गरी पढाईलाई निच मार्ने, अवसर पाए पनि ख्रोजी गरी लिन नचाहाने आदि उनीहरुकै प्राकृतिक तथा व्यक्तिगत स्वाभावले आफै पछि परेको तथ्य र अवस्था समाजमा प्रशस्त भेटिएको छ । त्यसैले अबको गीतको भाका थिचोमिचोमा परेको र पुरुषले प्रगतिको बाटो बन्द गरिदिएको भन्दा पनि दिएको अवसर र मौकालाई आफु सक्रिय भई लिनको लागि लाग्नु पर्ने आफ्नो जागर र जोशलाई शसक्त बनाउने, अध्ययनलाई प्राथमिकता दिने, आफ्नो जीवन आफै बनाउन महिला लाग्नु पर्ने र पुरुषले भन्दा बढी अबसर पाएको महशुस गरिएका भाकामा गीत गाई महिला कै शाहस बढाउनु पर्ने देखिन्छ ।
लेखक
लाल प्रसाद शर्मा
क्याम्पस प्रमुख
पर्वत बहुमुखी क्याम्पस, फलेवास नगरपालिका-६,देविस्थान पर्वत

